काठमाण्डु – सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको नेकपा एमाले कर्णाली प्रदेशका तीन जना सांसद पुन निलम्बनमा परेका छन् ।
पार्टीको ह्वीप उल्लंघन गरेर नेकपा माओवादी नेतृत्वको सरकारलाई मत दिने चार मध्ये तीन जना सांसद पुन निलम्बनमा परेका हुन् । प्रदेश सभा सचिवालयले शुक्रबार भौतिकमन्त्री अम्मरबहादुर थापा, भुमिमन्त्री कुर्मराज शाही, उद्योगमन्त्री नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्बित गरेको हो ।
‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरु निलम्बनमा परेका थिए । तर, जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो । फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन । ज्वाला असार १ गते दलको बैठकमा सहभागी भएका थिए भने सोही दिन प्रदेश सभामा समेत प्रतिपक्षको आसनमा थिए ।





प्रतिक्रिया