कर्णालीमा ट्वीस्टः नेपाल समूहका सांसदको पुर्नवहाली, नयाँ सरकारबारे एमाले आन्तरिक छलफलमा


काठमाण्डु – कर्णाली प्रदेशमा नेकपा एमालेका चार जना सांसद पुर्नवहाली भएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार हल्पमतमा परेको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुर्नवहाली गरेको पत्र पढेर सुनाएका थिए । एमालेका सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अदालतको आदेश अनुसार नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने छन् ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा सहभागी भएका माधव नेपाल समूहका चार सांसदलाई नेकपा एमालेले बर्खास्त गरेको थियो ।

४० सदस्यीय प्रदेशसभामा नेकपा एमालेसँग सभामुखसहित २० जना सांसद रहेका छन् । यसैगरी, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । अहिले मुख्यमन्त्री शाहीलाई कांग्रेससहित १८ जना सांसदको मात्रै समर्थन रहेको छ ।

एमालेका सांसदको पुर्नवहाली भएपछि मुख्यमन्त्री शाही स्वतः अल्पमतमा परेका छन् । नेपाल समूहका चार मध्ये तीन जना सांसद फ्लोर क्रस गरेर शाही नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले पार्टीको बैठक बसिरहेकाले आवश्यक निर्णय गर्ने जानकारी दिए । उनले पुर्नवहाली भएपछि एमालेको निर्देशनअनुसार सांसदहरुले काम गर्नुपर्ने बताए ।

कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक जारी रहेकाले आजै नयाँ सरकारबारे निर्णयमा पुगिने एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement