काठमाण्डु – माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली प्रदेश सरकार संकटमा परेको छ । नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकार रहेको थियो । तर, एमालेका तीन जना मन्त्रीले राजीनामा दिने भएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको हो ।
कर्णाली प्रदेशसभामा एमालेसंग एकल सरकार बनाउने सक्ने पर्याप्त संख्या छ । कर्णाली प्रदेशमा एमालेभित्रका माधव नेपाल समूहले पनि सरकारबाट आजै राजीनामा दिने भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार स्वतः ढल्ने भएकाे छ ।
कर्णाली प्रदेशमा एमालेबाट सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।
अर्थमन्त्री प्रकाश ज्वालाले आजको मन्त्रिपरिषद् बैठकमा सहभागी भएर राजीनामा दिने जानकारी दिए । कर्णाली प्रदेशका एमाले संसदिय दलका नेता यामलाल कँडेलले एमालेको सरकार गठनका लागि गृहकार्य सुरु गरिसकेका छन् । उनले नेपाल पक्षलाई समेत समेटेर अघि बढ्ने तयारी गरेका छन् ।
कंडेलले माधव पक्षका सांसदहरुसंग छलफल गरेर प्रदेशमा एमालेलाई एक ढिक्का बनाउने र नयां सरकार बनाउने तयारी गरेका हुन् । कंडेल अहिले एमालेको प्रदेश इन्चार्ज समेत छन् । उनी नै मुख्यमन्त्रीका दावेदार हुन ।
माओवादी केन्द्रले एमालेमा लागेका एक जना सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रले सांसद धर्मराज रेग्मीलाई सांसदबाट हटाएको छ । सांसद रेग्मीलाई हटाएको पत्र कर्णाली प्रदेशसभालाई पठाइसकेको छ ।
दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले माओवादी केन्द्रले पठाएको स्पष्टीकरणको समेत जवाफ दिएका थिएनन् ।
कर्णाली प्रदेशसभामा ४० सदस्य छन् । जसमध्ये एमाले एक्लैसंग २० जना सांसद छन् । एमालेमा सभामुख राजबहादुर शाही बाहेक १० जना ओली पक्षमा छन् भने ९ जना नेपाल पक्षमा रहेका छन् । दुवै पक्ष मिल्दा १९ जना सांसद हुन्छन् । माओवादी केन्द्रसँग ११ जना सांसद मात्रै रहेका छन् ।




प्रतिक्रिया