कर्णालीका तीन जना मन्त्री सोमबारबाट स्वतः पदमुक्त हुँदै, को बन्दैछ नयाँ मन्त्री ?

कर्णालीका तीन जना मन्त्री सोमबारबाट स्वतः पदमुक्त हुँदै, को बन्दैछ नयाँ मन्त्री ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका तीन जना मन्त्री सोमबारबाट स्वतः पदमुक्त हुने भएका छन् ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलिबाट समाप्त हुने भएको हो ।

प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था रहेको छ । फ्लोर गरेका माधव नेपाल पक्षका तीन जना सांसदलाई नेकपा एमालेले पदमुक्त गरेको थियो । हाल उनीहरु नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहेका छन् ।

मन्त्री थापा नेकपा एकीकृत समाजवादीको प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । उनीहरु भोलीबाट स्वतः पदमुक्त भएपछि नयाँ मन्त्री पठाउनेबारे नेकपा एसमा छलफल जारी रहेको मन्त्र बुढाले जानकारी दिए ।

उनले कसलाई मन्त्री बनाउने भन्ने विषयमा टुंगो लागि नसकेको बताए । कर्णाली प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका ३ जनामात्रै सांसद रहेका छन् ।

नेकपा एसबाट चन्द्रबहादुर शाही, देवी ओली र पदमबहादुर रोकाया सांसद रहेका छन् । उनीहरुलाई नै मन्त्री बनाउने तयारी भएको स्रोतले जानकारी दियो ।

गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि थापा, शाही र बुढालाई सरकारमा सहभागी गराइएको थियो ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग गर्दै आएको छ । कांग्रेसले माओवादी केन्द्र नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्नुपर्ने माग राख्दै आएको हो । तर, माओवादीले कांग्रेसको उक्त प्रस्तावमाथि असन्तुष्टी जनाउँदै आएको छ ।