काठमाण्डु – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही महिलासँगको सम्बन्धका कारण चर्चामा छन् । एक महिलामाथि बलात्कार आरोप लागेपछि मन्त्री शाही विवादमा तानिएका हुन् ।
बहालवाला मन्त्रीमाथि बलात्कारको आरोप लागेपनि उनी पदमा बसिरहेका छन् । सार्वजनिक पदमा बहाल व्यक्तिमाथि बलात्कार जस्तो गम्भीर आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा प्रदेश सरकार नै बचाउमा उत्रिएको छ ।
मन्त्री शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई बलात्कार गरेको भिडियो सार्वजनिक भएपनि प्रदेश सरकारले यसलाई सामान्य रुपमा लिएको छ ।
भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन् । बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनेपछि पीडित महिलाले ढोका खोल्छिन् । तर, प्रदेश सरकारले यस विषयमा आवश्यक छानबिन प्रक्रिया अगाडि नबढाउँदा घटना मिलाउने प्रयास भएको पाइएको छ ।
कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीता नेपालीले प्रमाणसहित आए सरकारले छानबिन प्रक्रिया अगाडि बढाउने बताइन् । उनले मन्त्री शाहीको बचाउ गर्दै आरोप लाग्दैमा प्रमाणित नहुने बताइन् । बलात्कारको आरोप लागेपछि निष्पक्ष छानबिनका लागि मन्त्री शाहीले पदबाट राजीनामा दिएर सहयोग गर्नुपर्नेमा सरकार भने प्रमाण आए प्रक्रिया अगाडि बढाउने पक्षमा छ ।
‘सरकारसँग सत्यतथ्य प्रमाणित हुने विषय आयो भने सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउँछ । अहिलेसम्म ति विषयहरु सरकार समक्ष आएको पनि छैन् । त्यसले गर्दा यी विषयमा धेरै गर्ने भन्दा पनि मिडियामा बलात्कारको आरोप भनेर आएको छ । आरोप हुनेबित्तिकै प्रमाणित हुन्छ भन्ने छैन् । नहुन पनि सक्छ । भोली सत्यतथ्य प्रमाणसहित भोली आएछ भने सरकार ले आफ्नो ठाउँबाट कदम चाल्ने कुरा छँदैछ,’ प्रवक्ता नेपालीले भनिन् ।
पीडित महिलाले गत भदौ २ गते राती आफूमाथि मन्त्री शाहीले बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिए पनि प्रहरीले प्रक्रिया अगाडि बढाउन सकेको छैन् ।
पीडित महिलाका श्रीमानले मन्त्री शाहीले अहमता देखाएको बताए । उनले शक्तिको आडमा मन्त्रीले अहमता देखाएकाले आफू कानूनी लडाइ लड्ने बताएका हुन् ।
‘मेरी श्रीमतीलाई सरी भनेको भएपनि चित्त बुझाउँथें । तर, जे गर्न सक्छस् गर । भन्ने उसले अहमता देखायो । यो देशमा न्याय त होला नि भनेर म लागेको हो,’ उनले भनेका छन् ।
भिडियो देखाएर बार्गेनिङ
दुई वर्ष अगाडि नै बलात्कारमा परेकी ती महिलाका श्रीमानले बलात्कार भएको भिडियो देखाएर मन्त्रीसँग वार्गेनिङ गर्ने गरेको खुलेको छ । आफ्नी श्रीमती दुई वर्ष अगाडि बलात्कारमा परेपनि उनका श्रीमानले मन्त्रीले बलात्कार गरेको भिडियो बोकेर आर्थिक वार्गेनिङ गरेको खुलेको हो ।
उनले कानूनी कारबाहीको बाटो नखोजी बलात्कार गरेको भिडियो देखाएर विभिन्न आयोजनाहरुको ठेक्का पार्ने र नपारे भिडियो सार्वजनिक गर्ने धम्की दिने गरेको पाइएको छ ।
यता मन्त्री शाहीले पनि भिडियो सार्वजनिक हुने डरमा महिलाका श्रीमानले भने बमोजिमका योजना पार्दै बजेट दिने गरेका थिए ।
साथै मन्त्री शाहीले आफ्नो कर्तुत सार्वजनिक हुने डरले आफूहरुलाई बयान फेर्न बाध्य पारेको पीडितले आरोप लगाएका छन् । यसरी दुवै जना पुरुषले पीडित महिलाको इज्जत र प्रतिष्ठामाथि नै आँच आउने गरी आफ्नो स्वार्थअनुसार काम गरेको देखिएको छ ।
निर्दोष रहेको मन्त्रीको अडान
मन्त्री शाहीले आफूमागि लागेको आरोपलाई राजनीतिसँग जोडेका छन् । उनले आफूमाथि फ्लोर क्रस भएदेखि नै विभिन्न किसिमले आक्रमण भइरहेको बताए ।
‘फ्लोर क्रस गरेदेखि ममाथि आक्रमण भएको छ । नैतिक, भौतिक शारिक आक्रमण भएको छ,’ मन्त्री शाहीले भने ।
उनले आफूले गल्ती नगरेकाले राजीनामा दिन आवश्यक नभएको प्रतिक्रिया दिए । मन्त्री शाहीले पीडित महिला न्याय माग्न नआएको भन्दै श्रीमान आएर नहुने समेत बताए ।
‘आफूले त्रुटी गरेको भए पो डराउने । पीडित महिला न्याय माग्न आउनुपर्यो नि । पुरुष आएर त भएन नि । राजीनामा दिएर छानबिन गर्न जरुरी छैन्,’ उनले भने ।
मन्त्री शाहीले भिडियोमा देखिएको मान्छे आफू भएपनि बत्ती निभएपछि भने आफू नभएको गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएका छन् ।
‘सर्ट त मैले नै लगाएको हो त । बत्ति निभाएपछिको म होइन् । भिडियो इडिट गरेको हो,’ उनले भने ।
अधिवक्ता एवं डिएलए नेपालकी महासचिव लक्ष्मी रावलले कानुन सबैलाई समान हुने भएकाले हल्का ढंगले लिन नहुने बताइन् ।
‘कानुन सबैलाई समान हुन्छ । उहाँमाथि आरोप लागेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ,’ उनले भनिन्, ‘चरित्र हत्या भएको हो भने मन्त्री सम्बन्धित निकायमा जानुपर्यो नि त । यो क्रिमिनल केश हो । कसैलाई मन लाग्दा जाने नलाग्दा नजाने । यसको हदम्याद पनि हुन्छ । मिडियामा पनि आइसकेको कुरालाई हल्का ढंगले लिनु हुँदैन ।’
२०७५ साउन ८ तत्कालिन न्याय, कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका थिए । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका छात्राहरुप्रति दिएको अभिव्यक्तिका कारण तामाङले राजीनामा दिएका थिए ।
उनले नेपालमा मेडिकल कलेज खोल्नुपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको दाबी गरेका थिए ।




प्रतिक्रिया