कर्णाली राजमार्गमा रिफ्रेस सेन्टर निर्माण गरिने

कर्णाली राजमार्गमा रिफ्रेस सेन्टर निर्माण गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – यातायात व्यवस्था विभागले कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गर्ने भएको छ। कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने राकम र पूर्व-पश्चिम राजमार्गको कपिलवस्तु जिल्लामा पर्ने गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

लामो यात्राका सवारी र यात्रुलाई आराम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सेन्टर निर्माणको तयारी गरिएको हो। ‘सेन्टर निर्माणको काम चालु आवको एक महिनाभित्रै बोलपत्र आह्वान मार्फत गर्नेछौँ,’ हमालले भने, ‘यसका लागि तीन करोड ५० लाख बजेट विनियोजन भएको छ।’

रिफ्रेस सेन्टरको स्थापनाले लामो समयसम्म हिँडेका सवारीसाधन, चालक र यात्रुका लागि सजिलो हुनुका साथै बजार क्षेत्रसमेत विस्तार हुने उनले बताए। उत्तर–दक्षिण जोड्ने कर्णाली राजमार्ग र मध्य पहाडी लोकमार्ग जोड्ने राकम कर्णाली सबै दृष्टिले उपयुक्त भएकाले छनोट गरिएको हो।

सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ। महानिर्देशक हमालले गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न १७ करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए। मुलुकका विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने सवारी सफा गरेर उपत्यका प्रवेश गराउने योजना रहेको उनले बताए।

‘काठमाडौँ उपत्यका छिर्ने सवारी धोएर मात्रभित्र ल्याउने तयारी थालिएको छ। यसका लागि विभिन्न निजी कम्पनीलाई आह्वान गरिने छ,’ हमालले भने। बाहिरबाट आएको धुलो, धुवाँलगायतको फोहर कम गरेर काठमाडौँ उपत्यकालाई सफा, स्वच्छ र सुन्दर शहर निर्माण गर्न चारै नाकामा एउटा मोडेल विधिको परिकल्पना गरिएको उनले बताए।