कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमाले पनि सहभागी हुने

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमाले पनि सहभागी हुने


काठमाण्डु – प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज मंगलबार बस्दैछ ।

संसद बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी हुने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा सहभागी हुने जानकारी दिए । तर, उनले आजको संसद बैठकमा विरोधका कार्यक्रम जारी रहने बताए ।

मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।