संसदीय समितिको कार्यादेश बनाउने कार्यदलमा कांग्रेसले ल्यायो नयाँ प्रस्ताव


काठमाण्डु – सहकारीमा रकम अपचलनबारे छानबिन गर्न बनाउने सहमति भएको संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ प्रस्ताव ल्याएको छ ।

बिहान कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यादेश (टिओआर) टुङ्ग्याउन बसेको कार्यदल बैठकमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारीको नाम उल्लेख गरी उनको नाम उल्लेख नगर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

यद्यपि कार्यदलमा टिओआर के बनाउने विषयमा सहमति जुटिनसकेको उनले जानकारी दिए । छलफल जारी रहेकाले केही समयपछि पुनः नेताहरुसँग छलफल गरेर बैठक बस्ने बताए ।

‘कांग्रेसका तर्फबाट नयाँ प्रस्ताव आयो तर छलफल जारी नै छ टुंगिएको छैन । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ जोडिएका संस्थाको नाम राखेर जाऔँ भन्ने रह्यो । त्यसैले हामीले छलफललाई निरन्तरता दिने कुरा गरेका हौँ । पुनः छलफलका लागि केही समयपछि बस्छौ । त्यस्तै पर्दा संसद् भवनमा पनि बस्छौ ’, बर्तौलाले भने ।

विपक्षीले नयाँ प्रस्ताव ल्याएपछि सत्तारुढ दलका कार्यदल सदस्यहरू शीर्ष नेताहरूलाई भेट्न गएका छन् । कानुनमन्त्री पदम गिरी अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् भने रास्वपा सांसद शिखिर खनाल पनि पार्टी सभापति रवि लामिछाने भेट्न गएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement