कास्की-२ : एमालेको गढलाई भत्काउने कांग्रेस–रास्वपाको दाउ

कास्की-२ : एमालेको गढलाई भत्काउने कांग्रेस–रास्वपाको दाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कास्की–२ मा यसपटक १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तर कडा प्रतिस्पर्धा तीन दलबीच हुने आकलन गरिएको छ ।

एमालेको गढका रूपमा परिचित यस क्षेत्रमा संविधान निर्माणपछि भएका तीन निर्वाचनहरूमा एमालेले नै जित्दै आएको छ ।

२०७९को निर्वाचनमा एमालेकी विद्या भट्टराई विजयी भएकी थिइन् । त्यसअघि सोही दलका रवीन्द्र अधिकारीले २०६४ र २०७० सालको संविधानसभा निर्वाचन तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका थिए । भट्टराई अधिकारीका श्रीमति हुन् ।

त्यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का माधव कँडेल दोस्रो स्थान भएका थिए भने नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका श्रीनाथ बराल तेस्रो स्थानमा सीमित भएका थिए । तर यसपटक पनि तीन दलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

रास्वपाले यस निर्वाचनमा एमालेका प्रभावलाई चुनौती दिने दाबी गरेको छ । उता नेपाली कांग्रेसका नेताहरूले अघिल्लो निर्वाचनमा गठबन्धनका कारण आफ्नै चुनाव चिह्न प्रभावकारी रूपमा प्रयोग गर्न नपाएको बताउँदै यसपटक आफ्नै चिह्नमा चुनाव लड्दा स्थिति बलियो बनेको दाबी गरेका छन् ।

स्थानीय मतदाताहरू विभाजित देखिएका छन् । धेरैले मुख्य प्रतिस्पर्धा एमाले, नेपाली कांग्रेस र रास्वपाबीच हुने आकलन गरेका छन् ।

चुनावी मैदानमा रहेका १७ उम्मेदवारमध्ये रश्मि आचार्य (एमाले), माधव बास्तोला (नेपाली कांग्रेस), हेमबहादुर थापा (नेपाल कम्युनिष्ट पार्टी), उत्तमप्रसाद पौडेल (राष्ट्रिय स्वतन्त्र पार्टी), कुशल गुरुङ (उज्यालो नेपाल पार्टी) र हेमजुङ गुरुङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) लगायत छन् ।

एमालेले पोखरा महानगरका पूर्व प्रमुखसमेत रहेका कृष्ण थापालाई दिएको टिकट परिवर्तन गरी युवा नेता आचार्यलाई उठाएको छ । पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापतिसमेत रहेका आचार्य पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् ।

एमालेको बलियो सङ्गठन रहेको यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा अधिकांश वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

पहिलो पटक संसदीय निर्वाचनमा होमिएका कांग्रेसका बास्तोलालाई एमाले उम्मेदवार आचार्यसँगै नेकपाका किरण थापा र रास्वपाका पौडेलले टक्कर दिने अनुमान छ ।

ग्रामीण क्षेत्रमा प्रचारप्रसार गरिरहेका उम्मेदवारहरूले भ्रष्टाचारमुक्त शासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र राष्ट्रिय समृद्धिलाई प्रमुख एजेन्डा बनाएका छन्, जुन विषयहरू युवामाझ विशेष रूपमा आकर्षक रहेको उनीहरूको भनाइ छ ।