काठमाण्डु – उदयपुरको एक मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
कटारी नगरपालिका–१० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा भएको झडप नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड गोली चलाएको थियो । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर २० वर्षीय प्रवीण कटुवालको ज्यान गएको हो ।
मृत्यु भएका प्रवीण त्यहाँका विप्लव माओवादीबाट स्वतन्त्र रुपमा वडाअध्यक्षका प्रत्यासी गौरव कटुवालका भतिजा हुन् । कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार बलबहादुर खत्री र एमालेका क्षेत्र खड्काबीच उत्पन्न विवाद झडपमा परिणत भएको थियो ।
मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि गोली चलाउनुपरेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले जानकारी दिए ।
विप्लव माओवादीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले आफ्नै पार्टीका उम्मेदवार गौरवको भतिजा वीरबहादुर कटुवालको निधन भएको पुष्टि गरे। अर्का १० वर्षीय बालकको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।
घटनास्थल कटारी बजारबाट ३ घण्टा गाडीको दूरीमा रहेको र पानी परिरहेकाले थप विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया