इलाम – १४ असोज राती नौ बजेतिर माइखोलामा चारवटा चाली बनाएर बगाउँदै लगेको २२ वटा सालको काठ सशस्त्र वन रक्षकको टोलीले नियन्त्रणमा लियो । काठ बगाउँदै ल्याउने तस्करको चार जनाको समूह खोलापारि थिए । तस्करहरू पारि सशस्त्र वन रक्षक माइखोला वारी भएकाले सहजै उम्किए ।
काठ नियन्त्रणमा लिएपछि वन रक्षकहरू तस्करलाई पक्रन खोला तर्न खोजे । खोलापारि रहेका चार–पाँचजना तस्करहरूले सशस्त्र वन रक्षकमाथि ढुंङ्गा बर्षाउन थाले । तस्करहरूले ढुंङ्गा हान्न थालेपछि वन रक्षकहरूले हवाइ फायर गरे । वन रक्षकले फायर गरेपछि उनीहरू तितरवितर भएर भागे ।
काठ नियन्त्रणमा लिएपछि त्यस रात सशस्त्र वन रक्षकको टोलीले आसपासको क्षेत्रमा गस्ती गर्यो । राती साढे तीन बजेतिर फेरी चारवटा चालीमा काठ बगाउँदै गरेको फेला पर्यो । बगाउँदै ल्याएको २४ वटा सालको गिँड वन रक्षकको टोलीले नियन्त्रणमा लिए । यसपटक पनि तरस्करहरू खोलापारिबाट भाग्न सफल भए ।
बर्षाको बेला तस्करहरूले माईखोलमा बगाएर काठ तस्करी गर्ने गरेका छन् । उनीहरूले काठकै चाली बनाउँछन् । त्यसलाई ट्रयाक्टरको ट्युबमा बाँधेर खोलामा बगाउँछन् । चालीमाथी पनि काठको गिँड राखेर तस्करी गर्ने गरेका छन् । हावाले भरिएको ट्युबमाथि चाली बनाएपछि चाली खोलामा डुब्दैन । त्यसले थेग्नसक्ने जति भार बोकाएर काठ तस्करी हुने गरेको छ ।
यसकारण प्रक्राउ पर्दैनन् काठ तस्कर
तस्करीको क्रममा सुरक्षाकर्मी वा वन कर्मचारीले भेँटे खोलामै काठ डुबाएर उनीहरू भाग्छन् । ‘ट्युबको हावा खुुस्काएपछि काठ खोलामा डुब्छ, अनि त्यसमा सम्लग्नहरू भाग्छन्’, डिभिजन वन कार्यालय इलामका प्रमुख इन्द्रमणि भण्डारीले भने, ‘त्यसैले काठ तस्कर समात्न गाह्रो छ ।’
चुरे क्षेत्र भएर बग्ने माईखोलामा विशेषगरी बर्षायाममा बगाएर काठ तस्करी हुने गरेको छ । तर, खोलामा बाढी आएको बेला छाली बनाएर काठ तस्करी गर्न सम्भव हुँदैन । खोलामा बाढी नआएको बेला र पानीको सतह कम नभएको अवस्थामा बगाएर काठ तस्करीको हुने गरेको डिभिजन वन अधिकृत भण्डारीले बताए । ‘भदौ अन्तिमदेखि कात्तिकसम्म यसरी काठ तस्करी हुने जोखिम हुन्छ’, उनले भने, ‘यो बेलामा हामी नियमित रुपमा निगरानी गरिरहेका हुन्छाै, तस्करीको प्रयास भए पनि सफल हुँदैनन् ।’
मंगलबार मात्रै सूर्योदय नगरपालिकाको तीनघरेबाट गाडीमा सालको काठ लैजाँदै गरेका एकजना पक्राउ परे । फिदिम नगरपालिका–९ का केशवप्रसाद ढुङ्गनालाई तीनघरे प्रहरी चौकीको टोलीले ६३ थान चिरान काठसहित पक्राउ गरेको हो । मे१च ६२४७ नम्बरको पिकअपसहित पक्राउ गरेका ढुंङ्गनालाई काठ र पिकअपसहित प्रहरीले सब डिभिजन कार्यालय माईमा बुझाएको छ ।
यसअघि १२ भदौको राती ११ बजेतिर रोङ गाउँपालिका–१ को भाटेखोला भन्ने ठाउँमा समेत पिकअप गाडीमा २३ थान चिरान काठ बरामद भएको थियो । सशस्त्र वन रक्षक र प्रहरीको संयुक्त गस्ती टोलीले स१च १०६३ नम्बरको पिकअपमा काठ बरामद गरेको हो । गस्तीको सुइँको पाएपछि तस्करहरू भने गाडी छाडेर भागेको वनका कर्मचारी बताउँछन् ।




प्रतिक्रिया