काठमाण्डु ३ : हाइ-प्रोफाइल भीडन्तकाे परीक्षामा कुलमान

काठमाण्डु ३ : हाइ-प्रोफाइल भीडन्तकाे परीक्षामा कुलमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा निर्वाचन जति जति नजिकिँदै गइरहेको छ, निर्वाचनप्रति आम चासो पनि बढ्दै गएको छ ।

यस्तै काठमाण्डु–३ यसपटक कसले निर्वाचन जित्ला भन्ने चासो पनि बढेको छ ।

हाइ–प्रोफाइल उम्मेदवारहरूको उपस्थितिले यो क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिएको छ । खासगरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका कुलमान घिसिङको प्रवेशसँगै यहाँको चुनावी सरगर्मी फरक बन्ने अनुमान गरिएको छ ।

पूर्वमन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक पनि रहेका घिसिङ सुशासन, कार्यसम्पादन क्षमता र इमानदार सार्वजनिक छविका कारण आम मतदातामाझ लोकप्रिय मानिन्छन् ।

दशकौँसम्म मुलुकले भोग्दै आएको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न उनले निर्वाह गरेको भूमिकाले उनलाई काम गरेर देखाउने नेताका रूपमा स्थापित गरेको छ । यही पृष्ठभूमिका कारण काठमाण्डु–३ मा उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

घिसिङसँग प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजु पाण्डे, नेपाली कांग्रेसबाट रमेश अर्याल तथा नेकपा (एमाले)बाट रामेश्वर फुयाँल मैदानमा छन् ।

यद्यपि, घिसिङको प्रशासनिक अनुभव, नतिजामुखी नेतृत्व र विकासप्रतिको स्पष्ट दृष्टिकोणले उनलाई अन्य उम्मेदवारभन्दा अलग पहिचान दिएको छ ।

घिसिङ नेपाल सरकारका पूर्व मन्त्रीसमेत हुन् । उनले ३० भदौ २०८२ देखि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हाल्दै २०८२ पौष २३ गतेसम्म कार्य गरेका थिए ।

मन्त्री तथा प्रबन्ध निर्देशक दुवै भूमिकामा उनले देखाएको कार्यक्षमता नै उनको मुख्य राजनीतिक पूँजी बनेको छ ।

अन्य उम्मेदवारहरूमा रास्वपाबाट उम्मेदवार राजु पाण्डे काठमाण्डु महानगरपालिकाका निर्वतमान नगर प्रहरी प्रमुख हुन् भने नेपाली कांग्रेसका रमेश अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्व वडाध्यक्ष हुन् ।

एमालेका उम्मेदवार रामेश्वर फुयाँल पूर्वसंविधानसभा सदस्यसमेत हुन् ।

स्थानीय विकास, सुशासन, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र प्रभावकारी सेवा प्रवाह सबै उम्मेदवारका साझा एजेन्डा भए पनि, काम गरेर देखाएको अनुभवका आधारमा निर्णय गर्ने मतदाताको संख्या बढ्दै गएको देखिन्छ ।

यही कारण काठमाण्डु–३ मा कुलमानको उम्मेदवारीले चुनावी नतिजा कुन दिशातर्फ मोडिने हो भन्ने कौतूहल अझ बढाएको छ ।

हाइ–प्रोफाइल उम्मेदवारहरूको भीडन्तबीच यस क्षेत्रको चुनाव यसपटक व्यक्तित्व, कार्यक्षमता र विश्वासको परीक्षणस्थलका रूपमा हेरिन थालेको छ ।

यता, यो क्षेत्र भौगोलिक रूपमा आधा काठण्डुको खानेपानीको माग धान्ने क्षेत्र मानिन्छ । तर, यही क्षेत्रभित्रै खानेपानीको समस्या चर्को रूपमा विद्यमान छ । त्यही बाटो हुँदै खानेपानीका मुख्य सञ्जाल बिछ्याइए पनि गोकर्णेश्वर नगरपालिका–४, ६ र ९ नम्बर वडामा खानेपानीको दीर्घकालीन समस्या समाधान हुन सकेको छैन । ढल व्यवस्थापन, सडक सञ्जालको अवस्था र फोहोर व्यवस्थापनजस्ता समस्या पनि पुरानै छन् ।

त्यसैगरी गोकर्णेश्वर–१ सुन्दरीजल क्षेत्रमा वन्यजन्तुको समस्या गम्भीर बन्दै गएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले जंगली जनावरहरू बस्तीमा प्रवेश गरी बालीनाली नष्ट गर्ने समस्या लामो समयदेखि कायम छ ।

हाइ–प्रोफाइल उम्मेदवारहरूको भीडन्तमा यी समस्याहरू मुख्य रुपमा हेरिएको छ । सो क्षेत्र यसपटक केवल दलगत प्रतिस्पर्धामात्र नभई व्यक्तित्व, कार्यक्षमता र जनविश्वासको परीक्षणस्थलका रूपमा हेरिन थालेको छ ।