काठमाण्डु महानगरले बाँसुरी वादन प्रतियोगिता गर्ने, प्रथम हुनेलाई डेढ लाख पुरस्कार

काठमाण्डु महानगरले बाँसुरी वादन प्रतियोगिता गर्ने, प्रथम हुनेलाई डेढ लाख पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले बाँसुरी वादन प्रतियोगिता गर्ने भएको छ ।

महानगरले २९औं वार्षिकोत्सवको अवसरमा महानगर स्तरीय बाँसुरी वादन प्रतियोगिता गर्न लागेको छ ।

स्वर्णिम योजना अन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले मंसिर २७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार रुपैयाँका साथै शिल्डमा चाँदीको ठूलो बाँसुरी प्रदान गरिने कामपाको स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले बताए ।

दोस्रो हुनेलाई १ लाख नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोलाई ५० हजार नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा सहभागी हुन महानगरको सम्पदा तथा पर्यटन विभागले दर्ता फाराम उपलब्ध गराएको छ । इच्छुक समूहले फाराममा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने ठूलो (घोर), मध्यम (माझवाल), सानो बाँसुरी (तिप) स्केल सहितको विवरण भर्नुपर्नेछ,’ मुनिकारले भने, ‘दर्ता फाराममा टोल, गुथी वा संघसंस्थाका गुरुः कजीः, नायःबाट सिफारिस गराउनुपर्छ । यसपछि वडाबाट सिफारिस गराएर मंसिर २० गतेभित्र विभागमा पठाउनुपर्नेछ ।’

कार्यक्रममा सहभागी सबैलाई प्रोत्साहन स्वरूप १० हजार नगद र प्रमाण दिने महानगरको तयारी छ ।