काठमाण्डुमा वर्षा, शुक्रबारदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाण्डुमा वर्षा, शुक्रबारदेखि मौसममा सुधार हुने पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा बिहीबार वर्षा भएको छ ।

उपत्यका क्षेत्रमा पछिल्लो २ दिनदेखि बदली हुँदै आएकोमा बिहीबार हल्कादेखि मध्यम वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा बिहीबार राति समेत हल्का वर्षाको सम्भावना छ । शुक्रबारदेखि मौसममा सुधार हुँदै जाने जनाइएको छ ।

पछिल्लो २४ घण्टामा पोखरा, मनाङ, गोरखा, मकवानपुर, सिन्धुली लगायतका जिल्लामा १४ मिलिमिटरसम्म वर्षा भएको छ भने सुदूरपश्चिमका पहाडी क्षेत्रका केही ठाउँ, कर्णालीमा छिटफुट वर्षा भएको छ ।

लुम्बिनीका पहाडी भेग, गण्डकी र बागमतीका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

बिहीबार राति मुलुकका पहाडी भूभागका थोरै स्थान, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ । काठमाण्डु उपत्यका वरपरका डाँडामा हल्का हिमपात भएको छ ।

शुक्रबारदेखि पश्चिमबाट मौसममा सुधार हुँदै जानेछ । शुक्रबार दिउँसो कोशी र गण्डकीका पहाडी भूभागका १–२ स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने पूर्वानुमान छ ।