काठमाण्डुका विद्यालयलाई सफा, सुन्दर र कलात्मक बनाउन स्वयंसेवक परिचालन

काठमाण्डुका विद्यालयलाई सफा, सुन्दर र कलात्मक बनाउन स्वयंसेवक परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका सामुदायिक विद्यालयलाई सफा राख्न सरसफाइका कार्यक्रम चलाउन, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउन सजावटका क्रियाकलाप गर्न ६ महिनाका लागि स्वयंसेवक परिचालन गरिएको छ ।

४३७ जना आवेदकबाट सर्टलिस्टमा छानिएका २४७ जनासँग गरिएको अन्तर्वार्ताबाट सम्पदामा युवा र बालबालिकाका लागि ४५ जना, वातावरण र बालबालिका (वाबा) कार्यक्रमका लागि १०० जना छानिएका छन् । उनीहरूका लागि ४ दिनको तालिम दिइएको छ । यसपछि वाबा कार्यक्रमका लागि छानिएका स्वयंसेवकलाई विद्यालयका फोकल शिक्षकसँगै ४ दिनको थप तालिम दिएर परिचालन गरिएको छ ।

तालिमको समापनपछि विद्यालय जानुअघि आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘सरकारका जिम्मेवार पदमा रहेको महसूस गरेर नतिजाका लागि काम गर्ने गर्नुहोला । सरकार र सरकारका कार्यक्रम चिन्ने यो अवसर पनि हो । धेरैलाई यस्तो अवसर प्राप्त हुँदैन । आफूभित्रको उर्जा चिनेर आफ्नो प्रयत्नबाट रूपान्तरणमा योगदान गरौं । यसमा बालबालिकाको नेतृत्व हुनेछ । स्वयंसेवकले सहजीकरण गर्नुहुनेछ । शिक्षकहरूले अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ ।’

कार्यक्रमबारे जानकारी दिँदै शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पाखरेलले स्वयंसेवकका रूपमा युवतीहरू धेरै आएका बताइन् । शहरी योजना आयोगका सदस्य इन्जिनीयर शैलेन्द्र झाले युवा अवस्थामा सरकारसँग सम्बन्ध स्थापना हुन नसक्दा देशप्रतिको सामीप्यतामा कमी आउने तथ्य महसूस भएपछि युवालाई अवसर देखाउन र सरकारसँग सम्बन्ध बढाउन कार्यक्रम सञ्चालन गरिएको बताए ।

विद्यालयलाई कलात्मक र सुन्दर बनाउन हरियाली प्रवर्द्धन गर्नु अन्तर्गतका क्रियाकलाप हुन् ।

हरेक स्वयमसेवकले हप्ताको २ दिन (बिहीबार र शुक्रबार) विद्यालयका लागि समय उपलब्ध गराउनुपर्नेछ । वाबा समूहका फोकल शिक्षक र विद्यार्थीसँग सहकार्य गरेर सुन्दर विद्यालय कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नु स्वयंसेवकको मुख्य जिम्मेवारी हो । यसका लागि हरेक बिहीबार फोकल शिक्षकसँग बसेर शुक्रबार सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना बनाउनुपर्छ ।

कार्ययोजना अनुसारका कार्यक्रम शुक्रबार कार्यान्वयन गर्नुपर्छ । विद्यालय हाता, कक्षा कोठा, बगैंचा, शौचालयको सरसफाइका लागि अगुवाइ गर्नुपर्छ । विद्यालयमा फोहोर वर्गीकरण अभ्यासलाई संस्थागत गर्ने काममा उनीहरूबाट योगदान हुने अपेक्षा गरिएको छ ।