काठमाडौं महानगरभित्रका ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत

काठमाडौं महानगरभित्रका ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत


काठमाण्डु- काठमाडौं महानगरपालिकाले ५९९ सवारीसाधन परीक्षण गर्दा ३४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत रहेको पाइएको छ । महानगरले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका हुन् ।

जाँच गरिएका सवारीसाधनमध्ये पेट्रोलबाट सञ्चालित २३ र डिजेलबाट सञ्चालित ३२२ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका महानगरको वातावरण विभागले जनाएको छ । पेट्रोलभन्दा डिजेलबाट सञ्चालित सवारीसाधन बढी मापदण्ड विपरीत रहेका विभागकी प्रमुख सरिता राईले जानकारी दिइन् ।

उनका अनुसार सवारीसाधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन महानगरले सडकमा आकस्मिक चेकजाँच गरिरहेको छ । यस क्रममा मापदण्ड विपरीत भएका सवारीसाधनलाई मर्मत गरेर सञ्चालन गर्न सुझाव दिइएको उनले बताइन् ।

प्रदूषण नियन्त्रणका लागि पुस २९ गतेदेखि थालिएको सचेतनात्मक कार्यक्रम नियमित सञ्चालन भइरहेको पनि प्रमुख राईले उल्लेख गरिन् । उक्त कार्यक्रमबाट सुधारको मौका दिँदा मापदण्ड पूरा नभएका सवारीसाधनलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मका कारबाहीको तयारी भइरहेको उनले जानकारी दिइन् ।

उनका अनुसार हालसम्म कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर सञ्चालित सवारीसाधनको परीक्षण भएको छ ।

परीक्षणका क्रममा मापदण्ड विपरीत पाइएका सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालित तथा स्कूल बस, सरकारी कार्यालयद्वारा सञ्चालित, सामान बोक्ने ट्रकलगायत रहेका विभागले जनाएको छ ।