काठमाण्डु– भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा उपत्यकाका विभिन्न ६० स्थानमा भएको आगजनी नियन्त्रणका लागि काठमाण्डु महानगरपालिकाले उपलब्ध सबै ५ दमकल पूर्ण रूपमा परिचालन गरेको जनाएको छ।
महानगरको विपद् व्यवस्थापन विभागका अनुसार आन्दोलनका कारण टायर, फोहोर र अन्य सामग्री बालिँदा शहरभर जोखिम बढेपछि दमकल टोलीहरू दिनरात खटिएका थिए।
यद्यपि, सडक अवरोध, जुलुस र ढुङ्गामुढाजस्ता कारण दमकल तत्कालै घटनास्थल पुग्न नसकेको विभागले स्पष्ट पारेको छ। महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्छन् ‘हामी तत्काल घटनास्थल पुग्न सक्ने अवस्थामा ढिलाइ गरेका होइनौं, सुरक्षाको पर्खाइमै थियौं। बौद्धबाट निस्कँदा चाबेलमा दमकलमाथि ढुङ्गामुढा हुन खोजिएको थियो, नेपाली सेनाको गाडीमा समेत ढुङ्गामुढा भएको थियो।’
पाण्डेले थपे ‘पहिलो दिन सिंहदरबारमा ८ः३० बजे दुईवटा दमकल लिएर ९ः४५ बजेसम्म आगो निभाइएको थियो। त्यसपछि १०ः०० बजे नेपाली सेनाले सुरक्षाको जिम्मा लिएपछि समन्वय गरेर ‘प्राथमिकता’का साथ दमकल परिचालन गरिएको थियो। रातभर र भोलिपल्ट पनि एकै स्थानमा पटक–पटक आगो निभाउन दमकल पुगेको थियो ।’
साउन २३ र २४ गते मात्र ३० भन्दा बढी आगलागीका घटनामा दमकल परिचालन गरिएको विभागको तथ्यांकले देखाउँछ। संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार, हिमालय बैंक, राष्ट्रिय वाणिज्य बैंक, शान्तिनगरको बिजुली पोलदेखि बाहिरी क्षेत्रका भागबगिनी र हिल्टन होटलजस्ता ठाउँसम्म दमकल पठाइएको थियो।
महानगरले पानीको अभाव नहोस् भनेर विशेष व्यवस्था गरेको थियो। पाण्डे भन्छन् ‘बालाजु र स्वयम्भू क्षेत्रका निजी तथा महानगरका ट्यांकरहरूबाट सयौं ट्यांकर पानी ल्याएर दमकल भरिने व्यवस्था मिलायौं। महानगरले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो।’
आन्दोलनपछि शहरलाई सामान्य अवस्थामा ल्याउन भदौ २५ गतेदेखि ३७४ टिपर फोहोर संकलन गरिएको महानगरले जनाएको छ।
महानगरले यस घटनाबाट सिक्दै विपद् व्यवस्थापन क्षमतालाई अझै सुदृढ बनाउने योजना बनाएको छ। यसमा नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोग महत्त्वपूर्ण रहेको विभागको निष्कर्ष छ।




प्रतिक्रिया