काठमाण्डु – एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनामा हुने काठमाण्डु म्याराथनको १७औं संस्करण हुने भएको छ ।
आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले कात्तिक १५ गते काठमाण्डु म्याराथन हुन लागेको जनाएको छ ।
म्याराथनको १३औं संस्करणले सिद्धार्थ बैंकको साथ पाएको छ। एनआरएसले अब प्रतियोगिताको नाम सिद्धार्थ बैंक १७औं काठमाण्डु म्याराथन हुने जनाएको छ।
यसपल्ट कुल १३ विधामा प्रतिस्पर्धा हुँदै छ। यस पटक म्याराथन (४२.१९५ किमी) मा खुला, ४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि गरी तीन विधामा हुनेछ। हाफ म्याराथनमा पनि खुला, ४० र ५० वर्षमाथि गरी समान तीन विधामा धावकले चुनौती प्रस्तुत गर्नेछन्।
१० किलो मिटर मास्टर्समा खुला, ५ किमीमा खुला, ५.३ किमीमा खुला, विद्यालय तथा फन रन गरी १३ विधा समावेश गरिएको आयोजकले उल्लेख गरेको छ। आयोजकका अनुसार हालसम्म प्रतियोगितामा एक सय ६ विदेशीसहित १६ राष्ट्रका तीन हजारभन्दा बढी धावक र धाविकाले आफ्नो नाम दर्ता गरिसकेका छन्। कात्तिक १० गते सम्मका लागि दर्ता प्रक्रिया खुला गरिएको छ। म्याराथन दशरथ रंगशाला त्रिपुरेश्वरदेखि सुरु हुनेछ।
त्यहाँबाट सुरु भई थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, ग्वार्को, कोटेश्वर, जडीबुटी, कौशलटार चोक, सूर्यविनायक, भक्तपुर दरवार स्क्वायर, बोडे, सानोठिमी, तीनकुने, पशुपतिनाथ, गौशाला, चाबाहिल, महाराजगञ्ज, पानीपोखरी, केशरमहल, भद्रकाली, सुन्धारा हुँदै दशरथ रंगशालामा नै आएर सम्पन्न हुनेछ।
म्याराथन बिहान ५ः३० बजे सुरु हुनेछ आयोजकले जनाएको छ। त्यसपछि प्रत्येक पाँच मिनेटको अन्तरालमा अन्य रेसहरू सुरु हुने भएका छन्।




प्रतिक्रिया