काठमाण्डु – काठमाण्डुको सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजमा नयाँ व्यवस्थापन आएसंगै अस्पतालको सेवामा सुधार भएको छ । अव काठमाण्डु मेडिकल कलेजमा विशेषज्ञ डाक्टरसंग निःशुल्क रुपमा परामर्श लिन पाउने भएका छन् ।
विरामीहरुले आफ्नो समस्या राख्नैकालागि पैसा तिर्न नपर्ने भएको छ । अस्पतालले ओपिडी टिकट निशुल्क गरेको छ । विरामीले पैसा नै नतिरी विशेषज्ञ डाक्टरलाई भेटेर समस्या राख्न पाउने सुविधा थप गरिएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले बताए ।
‘नयाँ व्यवस्थापन आएको ठ्याक्कै एक बर्ष भयो । यो एक वर्षमा हामीले बिरामीहरुलाई कसरी सहजता प्रदान गर्न सकिन्छ भनेर त्यही अनुसारको योजना बनाएका छौं । हामीले हाम्रो अस्पतालमा समस्या लिएर आउने कुनै पनि विरामीले एक रुपैयां नतिरी विषेशज्ञ डाक्टरलाई आफ्नो समस्या राख्न सक्नेछन्,’ उनले भने ।
यस्तै जनरल म्यानेजर दाहालले आकस्मिक अवस्थामा आएका बिरामीलाई सहज रुपमा आकस्मिक कक्षमा पुर्याउन अस्पतालको गेट अगाडिनै स्वयमसेवक परिचालन गरेको बताए ।
‘ईमर्जेन्सी केस आउने गरेका छन् । कतिपय विरामीहरुका आफन्तहरु अस्पताल मै अल्मलिने गरेको पाइएपछि विरामीलाई छिटो भन्दा छिटो उपचार प्रदान गर्न हामीले सहजिकरणका लागि स्वयमसेवक खटाएका छौँ । विरामीहरु आउनासाथ अस्पतालको गेटमै रहेका स्वयमसेवकले सम्बन्धित ठाउंमा पुर्याउने व्यवस्था गरेका छौँ । ट्रली, ह्वील चेयर र स्ट्रेचर तयारी अवस्थामा राखेर चौबिसै घण्टा स्वयंसेवक खटाइएको छ,’ जनरल म्यानेजर दाहालले भने ।
स्वयमसेवकले बिरामी आइपुग्ने बित्तिकै एम्बुलेन्सबाट बिरामीलाई निकालेर सकेसम्म छिटो उपचारका लागि आकस्मिक कक्षमा पुर्याउने उनले बताए । यो नेपालका अस्पतालमा गरिएको पहिलो अभ्यास भएको दाहालको दाबी छ ।
योसंगै ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको अस्पतालले जनाएको छ । साथै नयाँ व्यवस्थापन आएसंगै विरामीहरुलाई औषधिका लागि फार्मेसी चाहार्दै हिँड्नुपर्ने अवस्था अन्त्य गरेको दाहालले बताए । विरामीका आफन्तलाई झन्झट नहोस भनेर यो सुविधा थप गरेको उनले सुनाए ।
‘डाक्टरको प्रेस्किप्सन बोकेर विरामीका आफन्त फार्मेसी चहारिरहनुपरेको थियो । यतिमात्र होइन कतिपय फार्मेसीवालाहरुले तोकिएको मूल्य भन्दा बढी लिने गरेको तथा एउटा औषधीको ठाउँमा अर्को औषधी पठाएको पनि पाइयो । त्यसैले हामीले के सुरु गरेका छौँ भने केएमसीमा जतिपनि भर्ना भएका विरामीहरु हुनुहुन्छ उहाँहरुलाई चाहिने सबै औषधी विना कुनै अतिरिक्त शुल्क हामी उहाँकै वेडमा पुर्याइदिन्छौँ,’ उनले भने, ‘यसो गर्दा आर्थिक बोझ पनि कम भयो विरामीलाई आवश्यक पर्ने भन्दा बढी औषधी खरिद गर्नुपनि परेन । विरामीका आफन्तलाई पनि झन्झट कम भयो । मलाई लाग्छ यो सेवा पनि अन्य मेडिकल कलेजहरुमा छैन् । हामीले कसरी हुन्छ कम शुल्कमा धेरै सेवा दिनेगरी काम गरिरहेका छौँ । यो सेवाका कारण विरामीहरुलाई केही सहुलियत पनि भएको छ ।’
यस्तै अहिले वागमती प्रदेशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संचालन भइरहेको उनले बताए । यसबाट आर्थिक अवस्था न्युन भएका नागरिकहरुले राहत महसुस गरेको समेत उनले बताए । अहिलेसम्म ७ वटा जिल्लामा गरिसकेको र यो अवका दिनमा बागमती प्रदेशका सबै जिल्लामा शिविर विस्तार हुने जानकारी दिए ।
शिविरमा पनि विशेषज्ञ डाक्टर सहित इसिजी, भिडियो एक्सरे रगत परिक्षणका सेवा निःशुल्क उपलब्ध गराएको उनको भनाई छ र यस्तै शिविरमा परिक्षण गराका मध्य अप्रेसन गर्नुपर्नेको हकमा ५० प्रतिशत छुट रहेको र शिविरबाट अस्पतालमा आउने अरु सबै समस्याका बिरामीलाई उपचार सेवामा २५ प्रतिशत प्रतिशत सहुलियत दिने गरेको बताइएको छ ।
एम्बुलेन्स र औषधि बाहेकका सेवामा छुट दिने उनको भनाई छ । हालसम्म साढे ३ सय भन्दा बढीलाई ५० प्रतिशत छुटमा शल्यक्रिया गराइएको छ ।
यस्तै अस्पतालको सेवालाई थप गुणस्तरिय बनाइएको उनको दाबी छ । न्युरो सर्जरीमा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि भित्र्याएको उनले सुनाए ।
रोवर्टीक सर्जरी सुरु भइसकेको बताइएको छ भने अहिले अस्पतालमा १ सय ५० आइसियु निर्माण कार्य भइरहेको छ ।
अत्याधुनिक प्रविधियुक्त आइसियु १ महिनाभित्र संचालनमा आउनेछ भने वालवालिकाको उपचारमा प्रयोग गरिने ४४ वेडको एनआईसियु अवको एक हप्ताभित्रै संचालन हुने छ ।
केएमीले सकेसम्म न्युन शूल्कमा बढी सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर लागेको जनरल म्यानेजर दाहालले बताए । उनले थप भएका सेवामा कुनै शूल्क नजोडिएको स्पष्ट पार्दै मानसेवाकालागि काम गरेको बताए ।
केएमसीका अध्यक्ष डा.सुनिल शर्माले विरामीको सहजताकालागी सबै पक्ष सधारको योजना ल्याएकाले छिट्टै अझ व्यवस्थापनलाई सुधार गरेर अगाडी बढ्ने दाहालले बताए ।




प्रतिक्रिया