फास्ट ट्र्याकको काम समयमै नसकिने

फास्ट ट्र्याकको काम समयमै नसकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाण्डु-तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बसेकाे समितिकाे बैठकले ठेक्का व्यवस्थापनका काम हुन नसकेकाले निर्धारित समयमै काम सम्पन्न नहुने ठहर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र सम्बद्ध आयोजनालाई समयमै काम सक्ने गरी कार्यतालिका बनाउन निर्देशन दिएको हो ।

‘२०८१ साल मंसिर महिनासम्म सम्पन्न हुने भनिएको काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा हालसम्म २१.१८ प्रतिशत प्रगति भएको छ। आयोजनाको पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कार्यहरु हालसम्म हुन नसकेको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुने विषयमा समिति विश्वस्त हुने अवस्था देखिँदैन,’ बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति कल्याणिकुमारी खड्काले भनिन्, ‘यस परिस्थितिलाई मध्यनजर राखी आयोजनाको लागत बढ्न नदिई गुणस्तरीय रुपमा निर्धारित समयमा सम्पन्न गर्न पर्याप्त स्रोतसहित ठोस कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने विषयमा तत्काल गम्भिरतापूर्वक पहल गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय सम्बद्ध आयोजनालाई निर्देशन गर्दछ।’

त्यस्तै समितिले आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरू इआइए र इएमपीको कार्यान्वयनको अवस्था र आयोजनाको तेस्रो पक्षबाट हुने अनुगमनको अवस्थाबारे समेत १५ दिनभित्र जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ।