काठमाण्डु – काठमाण्डु विश्वविद्यालयले बुधबार ३१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । पहिलो चरणमा दुई हजार २ सय ९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १ सय ९६ विद्यार्थी दीक्षित हुने बताइएको छ ।
समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी हुने कार्यक्रम छ । समारोहमा नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिने कार्यक्रम तय भएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले जानकारी दिए ।
समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टस्का ८३, स्कुल अफ एजुकेसनका २ सय ९४, स्कुल अफ इञ्जिनियरिङका ३ सय ४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३ सय ७८, स्कुल अफ मेडिकल साइन्सेजका ८ सय ८१ र स्कुल अफ साइन्सका १ सय ९७ गरी कूल दुई हजार २ सय ९ विद्यार्थी यसपटक दीक्षित हुने छन् ।
दीक्षितमध्ये विद्यावारिधी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३ सय ९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार ७ सय २८ जना रहेका छन् ।
दीक्षितमध्ये हुनेमा अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्वीडेन, संयुक्तराज्य अमेरिका र भियतनामका १ सय ९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विभिन्न पदकसमेत प्रदान गरिने जनाइएको छ ।
३१औँ दीक्षान्तको पहिलो चरणसम्म विश्वविद्यालयबाट दीक्षितको हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये पाँच हजार ८ सय ६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेका छन् । दीक्षित विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी भारतका हुन् । यस अवधीमा भारतका चार हजार ९ सय ७६ विद्यार्थी दीक्षित भएका हुन् ।
त्यस्तै, श्रीलङ्काबाट ३ सय ९९, अमेरिकाबाट ८५, माल्दिभ्स ७५, जर्मनी ३३, बङ्गलादेश २५, बेलायत २१, क्यानाडा २१, भुटान २०, चीन १९, जाम्बिया १८, दक्षिण अफ्रिका १४, पाकिस्तान १३, अष्ट्रेलिया १०, रुस १० जना छन् । हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी दीक्षित भएको वाग्लेले बताए ।




प्रतिक्रिया