काठमाण्डु – काठमाण्डु विश्वविद्यालयको उपकूलपतिमा प्राध्यापक भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई उपकूलपतिमा नियुक्त गरेका हुन् ।
उपकूलपतिका अर्का प्रत्यासी तथा केयू सिनेट सदस्य बालचन्द्र लुइटेलले थापाको नियुक्तिबारे पुष्टि गरेका छन् । केयूको ८८ औं सिनेट बैठकले उपकूलपति छान्न सहकूलपति तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा छनोट समिति गठन गरेको थियो । उक्त समितिमा केयूको बोर्ड अफ ट्रष्टी प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकूलपति सुरेशराज शर्मा सदस्य थिए ।
केयूको उपकुलपति बन्न ४४ जनाले आफ्नो वैयक्तिक विवरण शिक्षामन्त्री श्रेष्ठसमक्ष पेश गरेका थिए । उक्त समितिले ४४ जनाबाट तीन जनाको नाम केयूका कूलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेका थिए ।
जसमा केयूका वर्तमान उपकूलपति रामकण्ठ मकाजु श्रेष्ठ, पूर्व रजिष्ट्रार भोला थापा र शिक्षा संकायका प्राध्यापक बालचन्द्र लुँइटेलको नाम सिफारिस गरेको थियो । सबैभन्दा बलियो सम्भावना बोकेका मकाजुलाई पन्छाउँदै सरकारले भोला थापालाई नियुक्ति गरेको हो ।




प्रतिक्रिया