काठमाण्डु – काठमाण्डु उपत्यकामा पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राखिने भएकाे छ ।
बुधबार काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले क्वारेन्टाइन, आइसोलेसन केन्द्र दुरुस्त अवस्थामा राख्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् ।
‘कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने तथा स्वास्थ्य युनिटहरुलाई आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने तथा सोका लागि आवश्यक समन्वय जिल्ला स्वास्थ्य कार्यालयले गर्ने’, विज्ञप्तिमा भनिएको छ ।
गृह मन्त्रालयले चैत ९ गते सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेकाले पुराना आइसोलेन र क्वारेन्टाइन तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो ।
सोहीअनुसार काठमाण्डु उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरुले पनि सोही अनुसारको तयारी थालेका हुन् । प्रशासनले कोरोना संक्रमणको जोखिमबाट बच्न भिडभाड नगर्न, मेला जात्रा साँस्कृतिक कार्यहरु नगर्न आग्रह गरेका छन् ।
होलीका अवसरमा भिडभाड हुन नदिन र स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना गरेर मात्र सुरक्षित रुपमा होली मनाउन आग्रह गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन नगर्नेलाई संक्रामक रोग, २०२० बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।





प्रतिक्रिया