काठमाण्डु – काठमाण्डु उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले टाउको गनेर सेवा दिने भएको छ । कोरोना भाइरसको महामारीका कारण उपत्यकाका प्रशासनहरुले प्रत्येक सेवामा दिनको बढीमा २० जनालाई मात्र सेवा दिने भएको हो ।
काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । आइतबारबाट लागू हुने उक्त सूचनामा भनिएको छ, ‘साउन २५ गतेबाट स्थगित गरिएका नियमित सेवाहरु सामाजिक भौतिक दूरी कायम गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको मापदण्डहरु अपनाई देहाय बमोजिमको ढाँचामा अर्को व्यवस्था नभएसम्म असोज ४ गतेदेखि लागू हुने गरी प्रत्येक सेवामा दिनको २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी व्यवस्था मिलाइएको छ ।’
प्रशासनले नागरिकता, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरणका लागि कार्यतालिका बनाएर सेवा प्रवाह गर्ने भएको छ ।
त्यस्तै शान्ति सुरक्षाको निवेदन र कानून बमोजिम हुने मुद्दा सम्बन्धी कार्यहरु, सरकारी कार्यालयसँग सम्बन्धित समन्वय र छलफल, विपद व्यवस्थापन सम्बन्धी कार्यहरु सबै दिन हुने प्रशासनले जनाएको छ । सेवा लिन जाने सेवाग्राहीले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्ने प्रशासनले जनाएको छ ।






प्रतिक्रिया