घातक धुवाँले काठमाण्डु दिउँसै अन्धकार, दुई दिनदेखि उडान प्रभावित

घातक धुवाँले काठमाण्डु दिउँसै अन्धकार, दुई दिनदेखि उडान प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धुवाँ धुलोको कारण अहिले काठमाण्डु विश्वको सर्वाधिक प्रदूषित सहर बनेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायुको गुणस्तर सूचकाङ्क एक्यूआई ३०० भन्दा बढी हुनुलाई घातक मान्दछ । तर उपत्यकाको वायु प्रदूषण एक्युआई ४७० रेकर्ड भएको छ ।

शुक्रवार मध्यान्हपछि उपत्यकाको वायुमण्डल एकाएक धमिलो हुन थालेको थियो । यो क्रम शनिवार आज पनि रोकिएको छैन । स्वास्थ्यकर्मी र सरकारले अहिले नागरिकहरूलाई बाहिर विना काम ननिस्कन आग्रह गरिरहेका छन् । उनीहरूले अहिलेको प्रदूषणले स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका समस्याहरू निम्त्याउने भन्दै चेतावनी दिई रहेका छन् ।

ठमाण्डु वरिपरिका विभिन्न भागमा डढेलो लागेको कारणले पनि उपत्यकामा प्रदूषण बढेको अनुमान गरिएको छ । यो तुवाँलो केही दिन अझै रहने मौसमविद्हरूले जनाएका छन् ।

उडान प्रभावित

प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलबाट बिहान प्रस्थानतर्फ केही उडान भए पनि अहिले यान्त्रिक पद्धत्ति (आइएफआर) बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार विमानस्थलमा भिजिबिलिटी कम हुँदा अहिले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फ आइएफआर उडान मात्रै भइरहेको छ ।

उडान स्थगित र ढिलाइ हुँदा विमानस्थलको आन्तरिक टर्मिनल भद्रगोल भएकोे छ । उडान हुने आशामा सयौँ यात्रु आन्तरिक टर्मिलनमा कुरेर बसेका छन् । मौसममा सुधार भएमा बेलुकीपखका उडानको भने सम्भावना रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि शुक्रबार बिहान केही सङ्ख्यामा उडान भए पनि मध्याह्नपछि उडान प्रभावित भएको थियो । विमानस्थलले करीब दुई घण्टा प्रभावित भएको उडान साँझदेखि आइएफआर उडान खुलाइएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ हवाइसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएकामा अहिले कोभिड–१९ महामारीपछि अहिले १९ वायुसेवा कम्पनीले उडान सञ्चालन गरिरहेका छन् ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताए ।