मोइन अलीको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित

मोइन अलीको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माेइन अलीको उत्कृष्ट अर्धशतक र राहुल यादवको घातक मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले काठमाण्डुलाई ८ विकेटले पराजित गरेको हो।

काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरको जितमा ओपनिङ ब्याटर मोइन अलीले अविजित ५८ रन बनाए। उनले ५१ बलको सामना गर्दै ३ चौका र ३ छक्का प्रहार गरे।

मोइनलाई साथ दिएका सैफ हसनले अविजित ४० रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई सहज जित दिलाए।

लक्ष्य पछ्याउने क्रममा जनकपुरले ७ रनमा तृतराज दास र ३७ रनमा मयन यादवको विकेट गुमाएको थियो। दास ५ र मयन ९ रनमा आउट भए। त्यसपछि मोइन र हसनले संयमित ब्याटिङ गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो। काठमाडौंको इनिङ्स ध्वस्त पार्ने क्रममा जनकपुरका राहुल यादवले ४ विकेट लिए। उनले ४ ओभरमा ३१ रन खर्चिए।

राहुलले काठमाडौंका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा आदिल आलमलाई आउट गरे। सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। रसिद खानले १७, स्मित पटेलले १३, हरिशंकर शाहले ९, सुमित महर्जनले १० र कप्तान करण केसीले ८ रन बनाए।

त्यस्तै, जहानदाद खानले ५ र रिपोन मोन्डलले ९ रन जोडे। शाहव आलम ४ रनमा अविजित रहे। मोहम्मद आदिल आलम पहिलो बलमै आउट भए। लगातार विकेट गुमाएको काठमाडौंले ठूलो साझेदारी बनाउन नसक्दा सामान्य योगफलमा सीमित भयो।

जनकपुरलाई पहिलो जित
प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै अंकतालिकामा खाता खोलेको छ। मोइनको अर्धशतक र राहुलको चार विकेट जनकपुरको जितका मुख्य आधार बने।

एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।