काठमाण्डु-५ मा ईश्वर पोखरेललाई अघिल्लो विरासत जोगाउन चुनौती, को-को छन् प्रतिस्पर्धामा ?

काठमाण्डु-५ मा ईश्वर पोखरेललाई अघिल्लो विरासत जोगाउन चुनौती, को-को छन् प्रतिस्पर्धामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी नेकपा एमालेले काठमाण्डु क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम सिफारिस गरेको छ ।

बुधबार बसेको काठमाण्डुका १० वटै क्षेत्रीय कमिटीको बैठकबाट क्षेत्र नम्बर ५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको एकल नाम सिफारिस गरेको हो ।

पोखरेल २०७४ को आमनिर्वाचनमा काठमाण्डु–५ मा भारी आन्तरले विजयी भएका थिए । पोखरेल २३ हजार २९ मतसहित विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । अघिल्लो चुनावमा वाम गठबन्धनका कारण सहज रुपमा जीत निकालेका नेता पोखरेललाई यसपटक भने कठिन हुने देखिएको छ ।

किनकी पहिले एमालेसँग मिलेको माओवादी यसपटक कांग्रेससँग मिलेको छ । एमालेमै विभाजन आएर बनेको एकीकृत समाजवादीको मत पनि पोखरेलको विपक्षमा जाने निश्चित छ ।

काठमाण्डुका अन्य भन्दा ५ नम्बर क्षेत्रमा एमालेको अलि बढी प्रभाव रहेको मानिन्छ । गत स्थानीय तह निर्वाचनको नतिजा हेर्दा पनि सत्ता गठबन्धन भन्दा एमाले नै अगाडी देखिएको छ ।

त्यसैले गठबन्धनलाई यसपटक एकातिर एमालेको चुनौती छ भने अर्कोतर्फ उम्मेदवारको टुङ्गो लगाउन सकस छ ।पोखरेलको नाम प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस हुनुअघि नै यो क्षेत्रबाट उठ्ने स्वतन्त्र र अन्य दलका उम्मेदवारको नाम चर्चामा आइसकेको छ ।

अन्य भन्दा कांग्रेसमा हेवी वेट नेता भएकाले यो क्षेत्र कांग्रेसले पाउने सम्भावना छ । कांग्रेसबाट डा. प्रकाश शरण महत, प्रदीप पौडेल, शारदा शर्मा, नैनसिंह महर, स्वर्णिम वाग्ले लगायतको नाम चर्चामा छ ।

अघिल्लो निर्वाचनमा पोखरेलसँग पराजित भएका महतले यसपटक पनि दाबी गरेका छन् । कांग्रेस केन्द्रीय प्रवक्ता समेत रहेका महतले विगतमा वाम गठबन्धनका कारण हारेको भन्दै यसपटक टिकट पाए जित्ने बताएका छन् ।

यद्यपी नेता व्यवस्थापनमा समस्या भए महतका लागि नुवाकोट पनि विकल्प छ । यस्तै केन्द्रीय सदस्य प्रदीप पौडेल पनि उम्मेदवार बन्ने लाइनमा छन् । उनले आफु आगामी निर्वाचनमा चुनाव लड्ने बताइसकेका छन् ।

यस्तै पूर्व सांसद नरहरि आचार्यकी श्रीमती शारदा शर्मा पनि आकांक्षी देखिएकी छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका डा स्वर्णिम वाग्ले पनि काठमाण्डु ५ का सम्भावित उम्मेदवार हुन् । उनले काठमाण्डु–५, चितवन वा गोरखामध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्ने इच्छा राखेको बताइएको छ ।

यता एमालेबाट विभाजन भएर हिडेको नेकपा एकिकृत समाजवादीबाट दुई जनाको नाम चर्चामा छ । नेकपा एसले सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ । यदि सत्ता गठबन्धनको भागबण्डामा काठमाण्डु–५ समाजवादीले पाएमा पराजुली र पोखरेलमध्ये एकजना उम्मेदवार बन्ने छन् ।

त्यस्तै विवेकशील नेपाली दलकी पूर्व नेता रञ्जु दर्शनाले पनि यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि काठमाण्डु महानगरको मेयरमा उम्मेदवारी दिएर उल्लेख्य मत ल्याएकी दर्शनालाई पनि प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

उनी यसअघि विवेकशील साझा पार्टीमा थिइन् । उनले काठमाण्डु महानगरको मेयरमा प्रतिस्पर्धा गरेर २३ हजार भन्दा बढी मत ल्याएपछि चर्चा चुलिएको थियो । यसपटक भने स्वतन्त्र रुपमा उठ्ने उनले घोषणा गरेकी छन् ।

युवा उद्यमी विजय कंडेलले पनि काठमाण्डु ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले काठमाण्डुलाई धुलोरहित बनाउन ’जाग्यो नेपाल’ अभियानको नेतृत्व गरेका थिए ।

काठमाण्डु ५ बौद्धिक मतदाता धेरै भएको क्षेत्र भएकाले परिणाम कस्को पोल्टामा पर्छ अहिले नै यकिन गर्न कठिन हुने विश्लेषकको भनाइ छ । तर मुख्य प्रतिस्पर्धा भने नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच नै हुने भएकाले पाेखरेललाइ यसपटक याे क्षेत्रमा जित निकाल्न सहज छैन ।