देशभरको मौसम : काठमाडौंको तापक्रम १ डिग्री, जुम्लाको माइनस ५

देशभरको मौसम : काठमाडौंको तापक्रम १ डिग्री, जुम्लाको माइनस ५


काठमाडौं – आज (आइतबार) काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान ९ बजे मापन गरिएको कठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको मौसमविद्ले जानकारी दिएका छन । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस थियो । आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लाको माइनस ५.५ (अर्थात् –५.५) छ । त्यसपछि दोस्रोमा काठमाडौं नै पर्छ ।

यसपछि क्रमशः वीरेन्द्रनगरको २.४, दिपायल र ताप्लेजुङको समान २.६, डडेल्धुराको २.७, दाङको ३.५, पोखराको ३.७, ओखलढुंगाको ५.०, धनकुटाको ५.८, धनगढी र सिमराको समान ७.०, भैरहवाको ७.५, विराटनगरको ७.६ र सबैभन्दा बढी न्यूनतम तापक्रम नेपालगन्जको ८.० डिग्री सेल्सियस छ ।

त्यस्तै आज देशभर चिसो बढेपनि मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ । सोमबार भने दिउँसो देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, मंगलबार दिउँसो देशको पश्चिमी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशका अधिकांश भू–भागमा आंशिक बदली रहनेछ ।