काठमाण्डु – नेपाली पुरुष भलिबल टोली सेन्ट्रल एसियन भलिबल एसोसिएनस (काभा) च्याम्पियनसिप खेल्दैछ ।
हरिहजुर थापा कप्तानीमा रहेको नेपालले पहिलो खेल बुधबार कजाखस्तानसँग खेल्न लागेको छ । पाकिस्तानको इस्लामाबादमा सुरु हुने काभा च्याम्पियनपसिपमा नेपालको पहिलो खेलमै खेल विहान साढे १० बजे सुरु हुनेछ।
नेपालले गत असोजमा बंगलादेशमा भएको काभा पुरुष नेसन्स लिग खेलेको थियो। त्यही प्रतियोगिताबाट हरिहजुर पुनः कप्तानी जिम्मेवारीमा फर्किएका थिए।
त्यसअघि नेपालले २०८० मा प्रतियोगिता खेल्दा कप्तान मानबहादुर श्रेष्ठ रहेका थिए। उनी संन्यास लिएर अस्ट्रेलिया पुगेका छन्।
प्रशिक्षक जगदिश भट्टले यसपटक १२ मध्ये अधिकांश नयाँ खेलाडी समेटेर टिम तयार गरेको छन्।
नेपाली टोलीमा कप्तान हरिहजुरसँगै सुनिल बोहरा, पहल गतहराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रबिन नगरकोटी, हिमाल सुनारी, दीपेश कुँवर र विनोद चन्द रहेका छन्।
२९ जुलाईसम्म हुने प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र बंगलादेश रहेको छन्।
६ टोली सहभागी च्याम्पियनसिप सिंगल राउन्ड रोविनका आधारमा हुनेछ। शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। पाँचौं र छैटौं स्थानमा रहने टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआइभिबीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो।
नेपालले दोस्रो खेलमा बिहीबार श्रीलंका, शुक्रबार आयोजक पाकिस्तान, आइतबार बंगलादेश, सोमबार समूहको अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ।
सन् २०१७ मा नेपाली टिमले पहिलो पटक अन्तर्राष्ट्रिय कास्य पदक जितेको थियो। त्यसयता कुनै पनि पदक जित्न सकेको छैन।





प्रतिक्रिया