काठमाण्डु-घरेलु मैदानमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र भारत भिड्दैछन् । भारत नेपालको बलियो प्रतिद्वन्दी हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन् । यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।
लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मात्र छ । नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो ।
लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो ।
जारी लिगमा भारत नेपालका लागि बलियो प्रतिद्वन्दी मानिन्छ । यसअघिका भेटमा नेपालमाथि भारतीय टोली हाबी हुँदै आएको छ।
यद्यपी आजको खेलमा नेपाली टोली भारतीय टोलीको कडा चुनौती पन्छाउने रणनीतिसहित कोर्टमा उत्रनेछ ।
घरेलु मैदानमा लगातार दुईपटक भारतसँग पराजित महिला टोली आजको खेलमा त्यो हारको बदला लिने योजनामा हुनेछ ।
सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारतलाई १ सेट मात्र पराजित गरेको थियो । त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । तर पनि नेपाल सागमा भारतसँग पराजित भएको थियो ।
यस्तै अघिल्लो संस्करण घरेलु मैदानमा नै भएको काभामा नेपाल भारतसँग पराजित भएको थियो । लगातार दुई पटक भारतले दिएको चोट बिर्सिएर नेपाली टोली आजको खेलमा सशक्त प्रर्दशन गर्ने योजनामा छ ।
आजै हुने दोस्रो खेलमा इरान र मालदिभ्स खेल्नेछन् । सोही कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुने तालिका छ ।
५ टोली सहभागी लिगको राउण्ड रोविनपछि शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । पुछारको टोली बाहिरिनेछ ।
अंक तालिकाको शीर्ष र चौथो स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोली फाइनल प्रवेशका लागि खेल्नेछन् ।
दुई सेमिफाइनलका विजेताले उपाधिका लागि खेल्दै पराजित हुने टोलीले भने तेस्रो स्थानका लागि खेल्नेछन् ।




प्रतिक्रिया