कावासोतीमा ढल निर्माण गर्दा मृत्यु भएका कामदारका परिवारलाई तत्काल ५/५ लाख राहत दिने सहमति

कावासोतीमा ढल निर्माण गर्दा मृत्यु भएका कामदारका परिवारलाई तत्काल ५/५ लाख राहत दिने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वीनवलपरासी – पूर्वीनवलपरासीको कावासोतीमा ढल निर्माणका क्रममा मृत्यु तीन महिला मजदूरको मृत्यु भएपछि आन्दोलनरत स्थानीय र कावासोती नगरपालिकाबीच १० बुँदे सहमति भएको छ । सहमतिपछि स्थानीयले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

सदरमुकाम कावासोतीको फलफुल चोकमा ढल निर्माणका क्रममा असावधानीले बिहीबार तीन महिला मजदुरको मृत्यु भएको थियो ।

कावासोती नगरपालिकाका प्रवक्ता डोरमान गिरीले मृतकका परिवारलाई तत्काल राहतस्वरुप नगद ५–५ लाख रुपैयाँ दिने सहमति भएको जानकारी दिए । त्यस्तै ५० हजारका दरले प्रतिपरिवार किरिया खर्च उपलब्ध गराउने, मृतकका एक–एक बालबच्चाका नाममा ५ लाखका दरले अक्षयकोष स्थापना गर्ने, घटनास्थलमा मृतकको शिलालेख राख्ने सहमति भएको उनले बताए । मृतकका परिवारलाई रोजगारी दिने र रोजगारीको पुस्तान्तरण गर्दै जाने सहमति पनि स्थानीय र नगरपालिकाबीच भएको छ ।

मृतकका सबै बालबच्चालाई कक्षा–१२ सम्म अध्ययन खर्च र स्टेशनरी बापतको खर्च समेत नगरपालिकाले ब्यहोर्ने, मृतकको परिवारको घरको अवस्था अवलोकन गरी कमजोर बासस्थान भएका परिवारलाई आवासको ब्यवस्था गर्ने र शव ब्यवस्थापन गर्दा लाग्ने सबै खर्च नगरपालिकाले ब्यहोर्ने लिखित सहमति भएको छ ।

सहमतिमा कावासोती नगरपालिकाका तर्फबाट उपमेयर फुलकुमारी थनेत र पीडित पक्षले हस्ताक्षर गरेका छन्।

नगरपालिकाले कावासोतीको जिल्ला प्रहरी कार्यालय अघिल्तिरबाट फलफुल चोकदेखि पूर्व तर्फको ठुलो खोल्सासम्म नाला निर्माण गर्दै गर्दा त्यहाँ काम गर्ने कावासोतीका ५१ वर्षिया सेती राना, २६ वर्षकी तानमया मस्रांगि र ३२ वर्षिया चमेली सिंजालीको ढिस्कोले पुरेर मृत्यु भएको थियो । उनीहरु सबै कावासोती नगरपालिका–५ निवासी कामदार हुन् ।

नगरपालिकाको लापरबाहीका कारण कारण ती महिलाहरुको मृत्यु भएको भन्दै स्थानीयले छानबिन समिति बनाउनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।