काठमाण्डु– काठमाण्डु कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको केसीसी एक्जिबिट २०२५ शुक्रबारबाट भव्य समुद्घाटन भएको छ ।
शुक्रबार कलेज परिसर, पुतलीसडक, काठमाण्डुमा आयोजित समारोहलाई नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे ।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले आजको दशक फाइभजी र एआइको भएको बताए । सरकारले फाइभजी प्रविधि यसै वर्षभित्र जडान गर्ने तयारी गरिरहेको उनले बताए ।
सरकारको एक वर्ष अनुभव मात्रै लिन पाएको भन्दै मन्त्री गुरुङले अब एक वर्ष काम गर्न पाए नेपाललाई प्रविधिमैत्री बनाउन सक्ने बताए । सरकारको सानो मात्रै डाटा सेन्टर रहेको भन्दै त्यसलाई ठूलो आकारमा बनाउनु पर्ने उनले बताए । आइटी पार्क एउटा पनि नभएको भन्दै उनले प्रविधियुक्त नेपाल विकासका लागि सरकारले काम गरिरहेको बताए ।
उद्घाटन समारोहको सभाध्यक्षता कलेजका अध्यक्ष सुमन कटुवालले गरे । कार्यक्रमको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आथित्यतामा भएको समुद्घाटन समारोहमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का सचिव डा. रवीन्द्र प्रसाद ढकाल विशेष अतिथिका रूपमा रहे ।
यसैगरी अन्य विशिष्ट अतिथिहरूमा सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे, व्यवस्थापन संघ (म्यान) का महासचिव इन्द्र कुमार श्रेष्ठ, कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की, आमसञ्चार विभाग प्रमुख प्रा. रामाकृष्ण रेग्मी, प्राचार्य राजु कट्टेल र एक्जिबिसनका संयोजक इ. रवि श्रेष्ठ रहेका थिए ।
शुक्रबार र शनिबार सञ्चालन हुने प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम र प्रत्यक्ष प्रस्तुतीहरू पनि समावेश गरिएका छन् । कार्यक्रममा चर्चित गायिका एञ्जिला रेग्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को प्रस्तुति तथा विद्यार्थीहरूद्वारा प्रस्तुत लाइभ म्युजिक आदि रहेका छन् ।
कार्यक्रममा १० हजार भन्दा बढी अवलोकनकर्ताहरूको सहभागिता रहने कलेजले अपेक्षा गरेको छ ।




प्रतिक्रिया