रास्वपा सांसदहरुलाई एमालेले भन्योः प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध हामीलाई साथ दिनुस्

रास्वपा सांसदहरुलाई एमालेले भन्योः प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध हामीलाई साथ दिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले प्रतिपक्षी दलहरुले सदनमा उठाएको एजेण्डामा साथ दिन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै एमाले सांसद क्षितिज थेबेले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिविरुद्ध आफूहरुले सदनमा गरिरहेको विरोधमा साथ दिन रास्वपा सांसदलाई आग्रह गरे ।


सीमा, राष्ट्रियता र राष्ट्रहीतसँग सम्बन्धित विषय कुनै दल विशेषको नहुने भएकाले सत्तापक्षले पनि प्रतिपक्षसँगै उभिएर प्रधानमन्त्रीलाई खबरदारी गर्नुपर्ने उनको भनाइ थियो ।

‘यस्तो गम्भीर, संवेदशीन र राष्ट्रिय सीमासँग सम्बन्धित विषयमा आज बोलेन भने पछि इतिहासले माफ गर्दैन भनेर बोल्न उभिएको छु । यो केबल एउटा पार्टीको विष मात्र रहेन । राष्ट्रलाई शीरमा राखेर हेर्नुपर्छ’, थेबेले भने, ‘सत्ता पक्षका माननीयहरु सहीलाई सही र गलतलाई गलत भनेर परिवर्तनशील नारा लिएर आउनुभएको थियो । ‘जान्नेलाई छान्ने, राम्रालाई छान्ने’ भन्ने नारा लिएर आउनुभएको थियो । मलाई पूर्ण आशा लागेको थियो, देशको परराष्ट्र मामिलाको विषय, सुरक्षाको विषय, र राष्ट्रियताको विषय बनेको महत्वपूर्ण राष्ट्रिय विषयमा प्रतिपक्षका सांसद मात्र उभिने होइन । हामी पनि यो गरिमामाय सदनमा उभिनेछौं र गलतलाई गलत भनेर प्रतिपक्षलाई साथ दिनेछौं भन्नुहोला भन्ने लागेको थियो ।’

थेबेले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिको निक्र्यौल सदनबाटै हुनुपर्ने बताए । उनले प्रधानमन्त्री शाहकै शैली र बोलीमा उक्त अभिव्यक्ति फिर्ता लिएर माफी मागेको सुन्न आफूहरुले चाहेको उल्लेख गरे ।

‘प्रधानमन्त्रीकै भाषा र शैलीममा यो गरिमामाय सदनमा उहाँले मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सच्याएर अघि बढ्नुपर्छ’, थेबेले भने ।

फरक प्रसंगमा उनले आफूहरुलाई जनताले कानून निर्माणका लागि सदनमा पठाएको भन्दै उक्त भूमिकाबारे जानकार रहेको बताए ।

राष्ट्रिय हितमा कानून निर्माणका लागि दिन रात र सार्वजनिक बिदाका दिनमा समेत काम गर्न र सहयोग गर्न आफ्नो दलका सांसदहरु तयार रहेको उनको भनाइ थियो ।