विराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेस पार्टी पनि आफ्नै लाइनमा आउने ठोकुवा गरेका छन् ।
सत्तारुढ गठबन्धनको निर्णय र पार्टी अनुशासन उल्लंघन गरेर मुख्यमन्त्री बनेका कार्कीमाथि प्रश्न खडा भइरहेका बेला उनले भने, ‘धैर्य गर्नुस्, पार्टी पनि लाइनमा आउँछ ।’
मुख्यमन्त्री नियुक्त भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नका लागि प्रदेश सभामा एकता प्रदर्शन गरेको बताए ।
सत्तारुढ गठबन्धनबाट मुख्यमन्त्रीको दाबी पेश गरेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोप्रति संकेत गर्दै मुख्यमन्त्री कार्कीले मध्यावधिमा जानबाट रोक्नका लागि मात्रै आफूले पार्टीभित्रैबाट कदम उठाउनु परेको स्पष्ट पारे ।
२९ सिट रहेको कांग्रेसबाट नेता डा. शेखर कोइराला समूहबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेका ३९ सांसदको समर्थनमा बहुमत संख्या ४७ प्राप्त गरी मुख्यमन्त्री बनेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ जनाको सनाखत भएपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । राजनीतिक पार्टीको निर्णयभन्दा पनि सांसदको सामूहिक पहलबाट आफू मुख्यमन्त्री बनेको दाबी उनले गरे ।
उनले भने, ‘इन्द्र आङ्बो मेरो असल मित्र हुनुहुन्छ, संसद्मा पनि सुरूदेखि नै छौं तर मध्यावधि रोक्नका लागि हामीले एउटा कदम उठाउनुपर्यो, त्यो पनि मैलेभन्दा हामी सांसदहरूको पहल हो । यहाँ पार्टीगत रूपमा भन्दा सांसदहरूको सामूहिक अठोटबाट यो सरकार बनेको हो, अन्यथा उहाँहरूले पनि लिनुहुन्न ।’
उनले थपे, ‘पार्टीले संविधानसम्मत गरेको कामकारबाहीलाई सकारात्मक रूपमा लिन्छ भन्ने मलाई लाग्छ, कहिलेकाहीँ अस्वाभाविक जस्तो देखिन्छ तर रिजल्ट आएपछि पार्टीले स्वाभाविक रूपमा आत्मसात गर्छ भन्ने मलाई लाग्छ । गठबन्धनको मात्रै सांसदको संख्याले मध्यावधिमा जाने बाटो देखिएको थियो, त्यो कुरा अघिल्लो २ चोटीको प्राक्टिस गर्दा पनि देखिइसकेको छ, मैले सांसदहरूको एकरूपता देखाएर मध्यावधि रोक्ने बाटो खोजेको हो ।’




प्रतिक्रिया