आफुलाई आइसोलेट गरेकी केकीले भनिन्ः कोरोनालाई खेलाँचीको रुपमा नलिऔं


काठमाण्डु – नायिका केकी अधिकारीले कोरोना रिपोर्ट नेगेटिभ देखिएपनि आफुलाई आइसोलेट गरेकी छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत कोरोना रिपोर्ट नेगेटिभ देखिएपनि आफु आइसोलेशनमा बसेको जानकारी दिएकी हुन् ।

केकीले आफुलाई केही दिनअघिको हावाहुरीपछि रुघाले समातेको बताएकी छन् । उनले दुई दिन ज्वरो आएपछि कोरोनाको आशंका लागेर परीक्षण गराएकी थिइन् । नभन्दै उनको कोरोना रिपोर्ट पोजेटिभ आयो । यसपछि चिकित्सकको सल्लाहअनुसार उनी अलग्गै बसिन् । उनले तीन दिनपछि पुनः परीक्षण गराइन् । दोस्रो पटकको परीक्षणमा भने उनमा कोरोना संक्रमण देखिएन ।

रिपोर्ट नेगेटिभ आए पनि उनले हाललाई आफूलाई आइसोलेट गरेकी छन् । उनले कोरोनालाई खेलाँचीको रुपमा नलिन र उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । कोरोनाबाट आफूसँगै अरुलाई पनि जोगाउन उनको अनुरोध छ । उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनले कोरोनाको खोप भने लगाएकी छैनन् ।

एक दशक लामो फिल्मी करिअरमा पहिलो पटक फिल्म ‘छ माया छपक्कै’ बाट हिटको सुख प्राप्त गरेकी उनी केही दिनमा फिल्म ‘घिन्ताङ’ को छायांकनमा व्यस्त हुँदैछिन् । यही मंगलबारबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक दीपक श्रेष्ठ थिए । तर, केकीमा कोरोना देखिएपछि केही दिनलाई छायांकन पछाडि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement