काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकटका नेताहरूसँग छलफल गरेका छन् । मंगलबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन् ।
सभापति गगन थापाले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका कोइराला समूहका ७ जनासहित १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
१९ जनालाई मनोनीत गरेपछि त्यसका सन्दर्भमा नेता कोइरालाले ५ बुँदे धारणा दिएका छन्। यसबारे नेता शेखर कोइरालाले केन्द्रीय समिति विस्तारले एकतामा ठेस पुगेको उल्लेख गरेका छन्।
यस्तो छ कोइरालाको धारणा-
भर्खरै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तार भएको छ। साथीहरूमा यसबाट स्वभाविक रूपमा मेरो भूमिका के कस्तो रह्यो र मैले कसरी यसलाई लिएको छु भन्ने जिज्ञासा होला।
१. मेरो सामान्य सोच के छ भने– पार्टीको समग्र एकता नभइ हामी राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न सक्दैनौं। विगतको निर्वाचन परिणामले हामीलाई धेरै ठूलो शिक्षा दिएको हुनुपर्छ। कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो। यसमा पद र व्यक्तिको कुरा गौण हुन जान्छ। कांग्रेसको इतिहास र परम्परा यही हो।
२. विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर मात्र खानु परेन, आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यो। हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ।
३. हाम्रा अगाडि स्थानीय तह र प्रदेशको निर्वाचन छ। यसमा पनि हामी आम नागरिकको भरोसा जित्न असमर्थ भएमा राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्य माथि प्रश्न उठ्ने खतरा म देख्दैछु।
४. कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा तिनको भूमिकालाई सुनिश्चित तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक रुपले एकतावद्ध हुँदै राजनीतिक रुपले नागरिक मैत्री पार्टी बनाउने दिशातर्फ अगाडि बढछौं।मलाई विश्वास छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरू सामूहिक भावना र साझा विचारवाट अगाडि बढनु हुनेछ।
५. आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भैरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ।
अन्त्यमा, हिजो वैशाख– २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५ औं महाधिवेशन (एकता महाधिवेशनका रुपमा) सम्पन्न गरिनुपर्छ। कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ।




प्रतिक्रिया