संविधानले नचिनेको कालो चश्मा लगाउने गिरोहले देश चलाएको छः काँग्रेस

संविधानले नचिनेको कालो चश्मा लगाउने गिरोहले देश चलाएको छः काँग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं– प्रमुख प्रतिपक्षी कांग्रेसले पञ्चायतकालीन भूमिगत गिरोहको शैलीमा संविधान र कानूनले नचिनेको गिरोहले देश चलाउने अभ्यास थालिएको आरोप लगाएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै काँग्रेस सांसद् खड्कबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा संविधान र कानुनले नचिकाहरूको गिरोह सक्रिय रहेको आरोप लगाए ।

प्रधानमन्त्री कार्यालयमा कालो चस्मा लगाएर राज्य संयन्त्र कब्जा गर्न उद्धत नयाँ नयाँ गिरोहका सदस्यहरू को हुन् ? भन्ने प्रश्न उनको थियो ।

बुढाले अख्तियार प्रमुख प्रेम राईसहित आयुक्तहरुलाई प्रधानमन्त्री कार्यालयमा ९ घण्टा बन्धक बनाएर राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहितलाई पक्राउ गर्न दबाब दिएको आरोप लगाए ।


संवैधानिक निकाय अख्तियार सतर्कता केन्द्रजस्तो नभएको बारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) जानकार छन् कि छैनन् भन्ने उनले प्रश्न गरे । अख्तियार कसैको गोजीको संस्था नभई तर्साएर आफ्नो इसारामा निर्णय गर्न बाध्य पार्ने प्रवृत्तिले प्रधानमन्त्रीको बदमासी कसरी छानबिन गर्छ भन्ने अहम् प्रश्न रहेको बुढाले औंल्याए ।

‘प्रधानमन्त्रीले बुझ्नु भएको छ कि छैन ? अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै सतर्कता केन्द्र होइन । संवैधानिक अंग हो’, बुढाले भने, ‘आवश्यक परेका बेला सरकारमाथि निगरानी राख्ने र राज्य शक्तिमाथि ‘चेक एण्ड ब्यालेन्स’ गर्ने हो । अख्तियार कसैको गोजीको संस्था होइन । प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने ?’


सरकारका मन्त्रीहरूले नभई अरुले नै मन्त्रालयका निर्णयहरु गर्ने गरेको आरोप उनले लगाए ।

मन्त्रीहरु देखाउने अनुहार मात्र भएको र निर्णय कालो चश्मा लगाउने गिरोहले गर्ने जिकिर उनको थियो ।

‘प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउने को हुन् र तिनीहरू नेपालको संविधान र कानुन नचिनेका केबल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्’, बुढाले भने, ‘निर्णय गर्ने ठाउँमा मन्त्री छन् कि पर्दा पछाडि बसेका कोही ? मन्त्रीहरू देखाउने अनुहार मात्रै हुन् र वास्तविक निर्णय अरू कसैले गरीरहेको छ भन्ने आरोप छ ।’


फरक प्रसंगमा बुढाले कांग्रेसका पदाधिकारीदेखि पूर्वप्रधानमन्त्रीसम्मलाई भ्रष्टाचार कसुरमा कानुन बमोजिम अनुसन्धान र कारबाही हुनुपर्छ भन्नेमा कांग्रेसमा कुनै द्विधा नरहेको बताए ।