खाद्य तथा व्यापार कम्पनी र पारवहनका महाप्रबन्धकद्वारा शपथ ग्रहण

खाद्य तथा व्यापार कम्पनी र पारवहनका महाप्रबन्धकद्वारा शपथ ग्रहण


काठमाण्डु – खाद्य तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा नियुक्त प्रकाश प्रसाद पोखरेललाई बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नियुक्तपत्र प्रदान गरिएको छ ।

दुवै जनालाई पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुसुदन बुर्लाकोटीले नियुक्ति पत्र प्रदान गरे । दुवै जनालाई मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा नियुक्तिपत्र प्रदान गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दुवै जनालाई सफल कार्यकालको शुभकामना दिए । उनले यसअघि निमित्तको भूमिकामा रहेका अनुभवी व्यक्तिहरूबाट समेत सुझाव लिएर काम गर्न निर्देशन दिए ।

यतिबेला यी दुवै संस्थानहरूले सन्तोषजनक परिणाम दिन नसकिरहेकाले वर्तमान चुनौतीहरूलाई अवसरमा बदलेर परिणाममुखी काम गरेर देखाउन उनले निर्देशन दिए । उनले भने, ‘अनुकूलतामा जोकोहीले काम गरे पनि प्रतिकूलतामा काम गरेर उत्कृष्ट परिणाम दिनसक्नुपर्छ, त्यसैले तपाईंहरू दुवै जनाले यी संस्थाहरूलाई उकास्न, संस्थाहरूको गरिमा जोगाउन मजबुत तवरको भूमिका निर्वाह गर्नुपर्छ ।’

अहिले काम गर्न नसक्ने छुट कसैलाई नभएको मन्त्री भण्डारीको भनाई छ । उनले दुवै जनाको परीक्षणकाल आजदेखि सुरु भएको बताए । उनले भने, ‘अब तपाईंहरूको पहिलो ३ महिना हेरिन्छ, त्यो अवधिमा सक्नुभएन भने तपाईं आफैंले पुनर्विचार गर्नुपर्ने हुन्छ । क्रमशः ६ महिना गर्दै थप समय परीक्षण गरिनेछ । सरकारले तपाईंहरूलाई जसरी विश्वास गरेको छ, त्यस अनुरूप काम गर्न सक्नुपर्छ, अहिले तपाईं–हामी सबै परीक्षणमा छौं ।’

मन्त्री भण्डारीले आफू मातहतका संरचनामाथि प्रश्न उठ्ने काम नगर्न निर्देशन दिए ।