सुदूरपश्चिम सरकारले बिचौलिया पोस्ने बजेट ल्याएको नेकपाको आरोप

सुदूरपश्चिम सरकारले बिचौलिया पोस्ने बजेट ल्याएको नेकपाको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८३÷०८३ को बजेट फेल गराउने चेतावनी दिएको छ ।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल रहेको नेकपाका संसदीय दलका नेता खजराग भट्टले सबै तागत लगाएर बजेट पास हुन नदिने चेतावनी दिए ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भट्टले प्रदेश सरकारले बिचौलिय, दलाल र सत्तारुढ दलका कार्यकर्ता पोस्ने गरी बजेट ल्याएको आरोप लगाए ।

प्रतिपक्षी दलसँगको प्रतिबद्धता र आफैंद्वारा तयार मापदण्डविपरीत योजना खरिदबिक्री गरिएको दाबी उनको थियो । बजेट मन्त्रालयमा नभई होटल र अज्ञात स्थानमा टाइप गरिएको आरोप नेकपाको छ ।

‘मन्त्रालय र सम्बन्धित अड्डाबाट जानुपर्ने योजना मुख्यमन्त्रीको कार्यालय र कतिपय होटलमा सुटकेस बुझेर हाल्ने काम भएका कुरा आएका छन्,’ भट्टले भने, ‘सम्पूर्ण सामर्थ्य लगाएर बजेट फेल गर्छौं ।’

सुशासन र विकासप्रति समर्पित सत्ता पक्षका सांसदको समर्थन समेत आफूहरुले पाउने बताए ।

भट्टले यस्तै बेथितिका कारण असल व्यक्तिहरुले समेत भ्रष्टाचारीको नाइकेको आरोप खेप्नुपर्ने अवस्था अब सह्य नहुने उल्लेख गरे ।

बजेट संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना तथा दिगो विकास, सरकारको आफ्नै सिद्धान्त, प्राथमिकता र संसदीय सर्वोच्चता एवं नागरिक सर्वोच्चताविपरीत आएको आरोप नेकपाको छ ।