बालकृष्ण खाँणलाई निलम्बन गर्न कांग्रेसको आनाकानी!

बालकृष्ण खाँणलाई निलम्बन गर्न कांग्रेसको आनाकानी!


काठमाण्डु- नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पहिलो चरणको अनुसन्धानमा प्रमाण नपुगेका विषयमा प्रहरीले दोस्रो चरणमा अनुसन्धान थालेको छ । अभियुक्तले बयानमा नाम लिएका तथा स्वतन्त्र प्रमाणले पुष्टि हुन नसकेका व्यक्तिहरूमाथि प्रहरीले दोस्रो चरणमा अनुसन्धान थालेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीले दोस्रो चरणको अनुसन्धान अन्तर्गत फरार अभियुक्त पक्राउदेखि प्रमाणको खोजीमा लागिरहेको बताए। सो मुद्दामा १५ जना फरार रहेका छन  । जसमध्ये १२ जना अदालतमा मुद्दा दायर भएका फरार छन्।

तीनजनाको प्रस्ट ठेगाना खुल्न सकेको छैन । बिचौलियाहरूले तत्कालीन गृहमन्त्री रामबहादुर थापादेखि केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसम्मलाई पैसा बुझाएको दाबी गरेका छन् ।

खाँणलाई निलम्बन गर्न कांग्रेसको आनाकानी
नेपाली कांग्रेसले जेलमा रहेका बालकृष्ण खाँणलाई निलम्बन गर्न आनाकानी गरेको छ । सार्वजनिक पद धारण गरेको र पार्टीको कुनै पदमा रहेको व्यक्तिलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने परम्परा छ । तर, कांग्रेसले कारवाहीमा वास्ता नगर्दा खाँण अहिले कांग्रेसको केन्द्रीय सदस्यको हैसियतमै सुन्धारा जेलमा रहेका छन् ।

सोही मुद्दामा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टीले यसअघि नै निलम्बन गरिसकेको छ । तर, कांग्रेसले आफ्ना नेताको निलम्बनबारे मौन छ । निलम्बन गर्नका लागि केन्द्रिय समिति बैठक राख्नुपर्ने भएपनि सभापति देउवाले लामो समयदेखि बैठक राख्न सक्नुभएको छैन ।

कांग्रेसकै नेताहरुले देउवाले खाँणलाई निलम्बन गर्न ढिलाई गरेको स्वीकार गरेका छन् । पार्टीको संस्थापन पक्षका नेताहरुले भने सभापति देउवा विदेशबाट फर्किएपछि निणर्य लिने बताएका छन् ।

खाँणलाई निलम्बन गर्नुपर्ने र गर्न नहुने गरी शीर्ष नेतामा फरक फरक तर्क आएपछि देउवाले वैशाख २८ मा वर्तमान र पूर्व पदाधिकारीको संयुक्त बैठक बेलाएका थिए। सो बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए।

सभापतिसहित बहुसंख्यक नेताहरुले निलम्बन गर्न नहुने अडान लिएपछि कांग्रेस खाँणको निलम्बनमा मौन रहेको हो । निलम्बन गर्न नहुने पक्षमा रहेका नेताहरुले कांग्रेसमा विगतमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकालाई समेत निलम्बन नगरिएको नजिर देखाएका छन् ।

शनिबार मात्रै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरूको प्रतिरक्षा राजनीतिक दलहरूले गर्न नहुने बताएका छन्। काठमाण्डुमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने बताए। कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेताहरूलाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने उनको भनाई छ ।

रवि लामिछानेको चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्कासन गर्न चुनौती दिएका छन्।

रास्वपा काठमाण्डु निर्वाचन क्षेत्र नम्बर ७ को प्रथम क्षेत्रीय भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदको अडियो टेप सार्वजनिक हुनासाथ साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको भन्दै शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्कासन गर्न सम्बन्धित दललाई चुनौती दिएका हुन्।

सिंहदरबार र बालुवाटारमा पैसा बुझ्नेहरु पूर्पक्षका लागि जेल चलान भएको अवस्थामा निर्वाचन क्षेत्रमा पुनः निर्वाचन हुने गरी निष्कासन नगरे आफूहरु प्रतिष्पर्धामा उत्रने उनले बताए।