आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै मानार्थ वाणिज्यदूतहरूलाई व्यापार, लगानी, पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसका अवसरमा बिहीबार काठमाण्डुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र विभिन्न मुलुकबिच आर्थिक साझेदारी विस्तार गर्न मानार्थ वाणिज्यदूतहरूको योगदान अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

नेपाल र सम्बन्धित मुलुकबिचको मित्रता तथा आर्थिक सम्बन्ध सुदृढ बनाउन मानार्थ वाणिज्यदूतहरूले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उनले भने, ‘विशेषगरी नेपाल र सम्बन्धित देशहरूबिच आर्थिक तथा व्यापारिक सम्बन्ध प्रवर्द्धन गर्न यहाँहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ ।’

उनले काठमाण्डुमा आवासीय कूटनीतिक नियोग नभएका मुलुकहरूसँग नेपालको सम्बन्ध विस्तार गर्न मानार्थ वाणिज्यदूतहरूले महत्त्वपूर्ण सेतुको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै जनस्तर, व्यापार, संस्कृति तथा संस्थागत सम्बन्ध विस्तारमा उनीहरूको योगदान प्रशंसनीय रहेको बताए ।

परराष्ट्र मन्त्रालय मानार्थ वाणिज्यदूतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री खनालले भने, ‘मन्त्रालयले मानार्थ वाणिज्यदूतसम्बन्धी विद्यमान नियम, सुविधा तथा कार्यप्रणालीको समयानुकूल समीक्षा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र प्रचलनअनुरूप सुधार गर्ने पहल गर्नेछ ।’

नेपालको समसामयिक राजनीतिक अवस्थाबारे चर्चा गर्दै उनले पछिल्लो राजनीतिक परिवर्तनले देशमा राजनीतिक स्थायित्व, नीतिगत निरन्तरता तथा पूर्वानुमेयताको आधार निर्माण गरेको उल्लेख गरे । वर्तमान सरकार सुशासन र समावेशी आर्थिक विकासप्रति प्रतिबद्ध रहेको जनाउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको बताए ।

परराष्ट्र नीतिको मूल उद्देश्य स्पष्ट पार्दै मन्त्री खनालले भने, ‘नेपालको परराष्ट्र नीति राष्ट्रिय हितको प्रवर्द्धन गर्दै आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार, नवप्रवर्तन प्रवर्द्धन तथा नागरिकका लागि अवसर सिर्जनामा केन्द्रित हुनेछ ।’

उनले रणनीतिक साझेदारी विस्तार, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने, बजार पहुँच विस्तार गर्ने, प्रविधि साझेदारी प्रवर्द्धन गर्ने तथा पर्यटन र दिगो विकासलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको बताए ।

आर्थिक कूटनीतिको सफल कार्यान्वयनमा मानार्थ वाणिज्यदूतहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै मन्त्री खनालले भने, ‘यी प्रयासहरूमा मानार्थ वाणिज्यदूतहरू अपरिहार्य साझेदार हुनुहुन्छ । तपाईंहरूले आफ्नो व्यावसायिक सञ्जाल, स्थानीय बजारसम्बन्धी ज्ञान तथा सार्वजनिक र निजी क्षेत्रसँगको निकट सम्बन्धमार्फत व्यापार, लगानी, पर्यटन, शिक्षा तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न सक्नुहुन्छ ।’

मन्त्री खनालले परम्परागत सम्बन्धलाई केवल औपचारिकतामा सीमित नराखी ठोस र मापनयोग्य उपलब्धिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै मानार्थ वाणिज्यदूतहरूका लागि ३ वटा प्राथमिकता अघि सारेका छन् ।

उनका अनुसार प्रत्येक मानार्थ महावाणिज्यदूतले आफ्नो जिम्मेवारी अन्तर्गतको मुलुकका लागि पर्यटन, प्रविधि हस्तान्तरण, प्रत्यक्ष वैदेशिक लगानी, नवीकरणीय ऊर्जा तथा व्यापार सहजीकरण लगायतका क्षेत्रमा केन्द्रित देश–विशिष्ट रणनीतिक कार्ययोजना तयार गर्नुपर्नेछ ।

व्यापार तथा लगानी प्रवर्द्धनका लागि नियमित रूपमा व्यवसाय–देखि–व्यवसाय (बी–टु–बी) कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै उनले भने, ‘हाम्रो लामो समयदेखिको आत्मीय सम्बन्धलाई अब ठोस तथा मापनयोग्य उपलब्धिमा रूपान्तरण गर्न आवश्यक छ ।’

कन्सुलर सेवालाई नागरिकमैत्री, सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री खनालले भने, ‘सार्वजनिक सेवकका रूपमा हामी नागरिकका अपेक्षाप्रति संवेदनशील हुनुपर्छ । सहज, प्रभावकारी, उत्तरदायी तथा नागरिकमैत्री सेवा सुनिश्चित गर्न म सबै सदस्यहरूलाई आग्रह गर्दछु । गुणस्तरीय सेवा प्रवाहले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँछ ।’

उनले शिक्षा, संस्कृति तथा युवाबिचको आदानप्रदान विस्तार गरी जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पनि मानार्थ वाणिज्यदूतहरूलाई आग्रह गरे । विदेशस्थित नेपाली नियोग, विदेशमा रहेका नेपाली मानार्थ वाणिज्यदूत, नेपालका लागि मान्यता प्राप्त विदेशी नियोग तथा काठमाण्डुस्थित विदेशी मानार्थ वाणिज्यदूतहरूले निजी क्षेत्रबीचको सहकार्य विस्तार गरी पारस्परिक लाभदायी आर्थिक साझेदारीलाई अझ सशक्त बनाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बोधनको अन्त्यमा मन्त्री खनालले अन्तर्राष्ट्रिय मित्रता, आर्थिक सहकार्य, शान्ति, समृद्धि तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धतालाई थप जोड दिन पुन: आग्रह गर्दै मानार्थ वाणिज्यदूतहरूले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरे । उनले १९औँ वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै मानार्थ वाणिज्यदूत कोर–नेपालले आगामी दिनमा पनि नेपालको आर्थिक कूटनीति, व्यापारिक सम्बन्ध तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।