खानेपानी मन्त्रालयमा लागेको आगलागीबाट के–के क्षति भयो ?

खानेपानी मन्त्रालयमा लागेको आगलागीबाट के–के क्षति भयो ?

मन्त्री यादव भन्छन्-आवश्यक डकुमेण्ट सुरक्षित छ


काठमाण्डु- खानेपानी मन्त्रालयमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।

मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन ।

आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन ।

आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीन वटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।

यसैबीच आगलागीबाट क्षति पुगेको खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु गरिएको छ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अवलोकन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारको काम थालेको हो ।

आगलागीबारे जानकारी प्राप्त हुनासाथ उपप्रधानमन्त्री सिंहको नेतृत्वमा मन्त्रालयबाट स्थलगत अवलोकन गरिएको थियो । साथै घटनाको क्षति मूल्याङ्कनसहित सिंहदरबार परिसरमा यस्ता घटना दोहोरिन नदिन तथा सोको पूर्व तयारीका लागि सिफारिससहित एक हप्तामा प्रतिवेदन पेस गर्न समिति समेत गठन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए । उनका अनुसार अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ ।

शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको मन्त्री यादवले जानकारी दिए । पानी तताउने मेसिन होला भनेर छोडेको भए पनि शनिबार भने आगलागी भएको उनले बताए । अति आवश्यक डकुमेण्टमा भने कुनै क्षति भएको मन्त्री यादवको भनाइ छ ।

खानेपानी मन्त्रालयमा पुगेका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताए । मन्त्रालयको पूरा भवनमै विद्युत् वायरिङको जाँच हुने उनले बताए ।