काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेशको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।
सोमबार मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी संकट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार टोली मंगलबारदेखि तराई–मधेशका संकटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रूपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।
छलफलका क्रममा मन्त्री यादवले खानेपानीको संकट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको छ भने बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेको बताए ।
उनले भने, ‘विशेषगरी खानेपानीको संकट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको र पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेका छन्, त्यहाँको समस्या समाधान गर्न आवश्यक छ ।’
नेपाल सरकार मधेश प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको उनले जानकारी गराए ।
भारत सरकार जलशक्ति मन्त्रालयसँग केही महिनाअघि हस्ताक्षर भएको समझदारीपत्र (एमओयू) को फलस्वरूप सोमबारको सहकार्य सम्भव भएको र यसले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको मन्त्री यादवको भनाई छ ।
भारतीय विज्ञ टोलीसँगको बैठकमा मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, उपमहानिर्देशक नारायण प्रसाद आचार्य, मेलम्ची विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने सहभागी थिए ।
भारतीय विज्ञ टोलीका तर्फबाट देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनऊ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायतको सहभागिता थियो ।




प्रतिक्रिया