काठमाण्डु-रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वभरि खनिज तेल र ग्यास विवादको विषय बनेका छन् । तर भविष्यमा शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा अर्को एउटा खनिजका लागि हुन सक्ने विज्ञहरूको दाबी छ ।
घटना २०२२ मार्च ८ को हो । बिहान निकल धातुको मूल्य यसरी अकासियो कि लन्डन मेटल एक्सचेन्जमा त्रास उत्पन्न भयो ।अठार मिनेटभित्र उक्त धातुको मूल्य अभूतपूर्व रूपमा बढेर प्रतिटन १,००,००० अमेरिकी डलर पुगेपछि कारोबार रोकिएको थियो ।
यो नयाँ कीर्तिमान बनाउनुअघि नै यसको मूल्य २४ घण्टामा २५० प्रतिशतले बढिसकेको थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वबजारमा धातुको ठूलो संकट उत्पन्न भएको यो पहिलो घटना थियो ।
अचानक मूल्य चुलिनुको कारण पश्चिमा देशहरूले रुसमाथि लगाएका प्रतिबन्धलाई थियो । त्यसले विश्वमा निकलजस्तो धातुको महत्व थप बढाइ दियो ।
रुस तेल र ग्यासको प्रमुख निर्यातकर्ता देश हो । युरोपेली देशहरू रुस–युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्धहरूका बाबजुद पनि इन्धनका लागि रुसमाथि निर्भर छन् । त्यसलाई रुसले हतियारको रूपमा प्रयोग गर्दै आएको छ ।
युक्रेनमाथिको आक्रमण रोक्न अमेरिका र उसका सहयोगी देशहरूले क्रेम्लिनमाथि कडा प्रतिबन्ध लगाए पनि युरोप रुससँग तेल र ग्यास किन्न बाध्य छ ।
तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा उत्पादित स्वच्छ ऊर्जाले राष्ट्रिय सुरक्षालाई सबल बनाउने बताएका थिए । बाइडनले विद्युतीय ब्याटरी निर्माण र नवीकरणीय ऊर्जा भण्डारणका लागि प्रयोग हुने खनिजहरूको स्थानीय उत्पादन र प्रशोधनमा सहयोग पु¥याउने एउटा कानुन लागु पनि गरेका थिए । ह्वाइटहाउसका अनुसार ती खनिजहरूमा लिथीअम, निकल, ग्र्याफाइट, कोबाल्ट आदि छन् ।
यसबाहेक पनि धेरै खनिजहरू भविष्यका लागि महत्वपूर्ण छन् । विद्युतीय ऊर्जातर्फ अघि बढिरहेको अर्थतन्त्रमा प्रतिस्पर्धाका लागि प्रत्येक देशको दृष्टि भिन्नाभिन्नै खनिजमा छ ।
तेल, ग्यास र कोइलाको निर्यातमा मात्रै निर्भर देशहरू भविष्यको ऊर्जा प्रतिस्पर्धामा पछाडि पर्ने खतरा विज्ञहरूले औँल्याएका छन् ।
उदाहरणका लागि रुसको अर्थतन्त्र मुख्यतया जीवाश्म इन्धनको निर्यातमा निर्भर छ । यो देश विश्वको दोस्रो ठूलो ग्यास उत्पादक र तेस्रो ठूलो तेल उत्पादक हो ।
तर रुसले भविष्यमा अन्य खनिजहरूको प्रतिस्पर्धामा समेत फाइदा लिन सक्छ । किनभने रुस विश्वमा कोबाल्ट र प्ल्याटिनमको दोस्रो ठूलो निर्यातकर्ता र निकलको तेस्रो ठूलो निर्यातकर्ता देश हो ।
रुस केही महत्वपूर्ण खनिजमा धनी देखिए पनि विज्ञहरूका अनुसार ती खनिज रुसमा अन्य देशमा भन्दा धेरै पाइन्छ । कोबाल्टको सबैभन्दा धेरै हिस्सा रिपब्लिक अफ कङ्गोमा पाइन्छ भने निकल इन्डोनेशया, लिथीअम अस्ट्रेलिया, तामा चिली र ‘रेअर अर्थ’ वर्गमा पर्ने खनिजहरू चीनमा सबैभन्दा धेरै छन् ।
विशेषज्ञहरूले कम्तीमा १७ प्रकारका खनिजलाई विश्वमा ऊर्जा उत्पादनको परिवर्तनका लागि महत्त्वपूर्ण भनेका छन् । त्यसैले यस्ता खनिज उत्खनन र प्रशोधन गर्ने क्षमता भएका देशहरूले भविष्यमा धेरै फाइदा लिन सक्ने ठानिएको छ ।
इन्टरनेशनल एनर्जी एजन्सीले यी १७ खनिजमध्ये लिथीअम, निकल, कोबाल्ट, तामा, ग्र्याफाइट र रेअर अर्थ थप महत्त्वपूर्ण रहेको बताएको छ ।
इन्टरनेशनल इनर्जी एजेन्सीका विज्ञ ते युन–किम सन् २०४० सम्ममा यी खनिजहरूको माग तीव्र रूपमा बढ्ने बताउँछन् ।
ऊर्जा सङ्क्रमणबाट बढी फाइदा लिनेमा सबैभन्दा धेरै यस्ता खनिज पाइने र यसको प्रशोधनमा अग्रपङ्क्तिमा रहेका देशहरू रहने उनको दाबी छ ।
‘ऊर्जा रूपान्तरणबाट सबैभन्दा धेरै कुन देशले फाइदा लिन्छन् थाहा पाउन कठिन छ किनभने त्यो उत्पादन शृङ्खलामा ऊनीहरू कुन स्थानमा रहन्छन् भन्ने कुरामा निर्भर रहन्छ’, उनले भने ।
उनका अनुसार विश्व अहिले एक महत्त्वपूर्ण चरणमा पुगिसकेको छ । बीसौँ शताब्दीमा तेलले महत्त्वपूर्ण भूमिका खेले पनि २१औँ शताब्दीको इतिहासमा ऊर्जा रूपान्तरणका खनिजहरूको भूमिका महत्त्वपूर्ण हुनेछ ।




प्रतिक्रिया