खर्च विवरण बुझाउन थाले प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरू


त्रिशूली – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै निर्वाचनमा उमेदवारी दिएका उमेदवार खर्च विवरण बुझाउन हतारिएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उमेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिनुपर्ने निर्वाचन आयोगल निर्णय गरेको थियो ।

नुवाकोटमा रहेको दुईवटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम यही शनिबार सार्वजनिक भएको थियो । आइतबार नै सातजना उमेदवार निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमको अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कार्यालय खुलेको पहिलो दिन सातजना उमेदवारले खर्च विवरण बुझाएका छन् । करिब एक दर्जनले फाराम लिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उमेदवारसहित समानुपातिक उमेदवारसमेत आफैँ निर्वाचन कार्यालयम पुगेर आवश्यक कागजातसहितको खर्च विवरण बुझाएका छन् । मत परिणामअनुसार निर्वाचित भएका क्षेत्र नं २ को प्रदेश–१ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित रामप्रसाद ढुङ्गाना आइतबार विदुर नगरपालिकाको विभिन्न वडामा मतदातालाई धन्यवाद दिन जानुपर्ने थियो ।

नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अजुर्ननरसिंह केसी र प्रदेश–२ बाट निर्वाचित बहादुरसिंह लामा (तामाङ) सँगसँगै विजयी र्यालीमा सहभागी हुनुपर्ने समयमा नव निर्वाचित सदस्य ढुङ्गाना भने खर्च विवरण बुझाउन चुनावी खर्चको बिलभर्पाइसहित आफैँ निर्वाचन कार्यालयमा पुगे ।

निर्वाचनमा पराजित भएका उमेदवार चुनावी समीक्षा गर्न र विजेता मतदातालाई धन्यवाद दिन घरघरमा जानुपर्ने व्यस्त समय भए पनि स्थानीयतहको निर्वाचनका उमेदवारले समयभित्र खर्च वितरण नबुझाएको कारण खर्च गर्न पाउने बराबरको जरिवानाको निर्णय निर्वाचन आयोगले तोकेको थियो । त्यसको सकारात्मक प्रभावको कारण अहिलेको आमनिर्वाचनका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् ।

आम निर्वाचनअन्तर्गत जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष उमेदवारले निर्वाचन क्षेत्र नं. १ मा रु ३१ लाख र क्षेत्र नं २ मा रु २९ लाखसम्म खर्च गर्न पाइने सीमा तोकिएको छ ।

प्रदेशसभातर्फ जिल्लाको चारवटामा नै प्रत्यक्षतर्फका उमेदवारले १७ लाखसम्म खर्च गर्न पाइने कानुनी व्यवस्था तोकिएको थियो । प्रतिनिधिसभाको समानुपातिक उमेदवारले रु दुई लाखसम्म र प्रदेश समानुपातिक उमेदवारले रु एक लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा छ ।

सोही सीमाभित्र रहेर निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले एक महिनाभित्र उमेदवारले अनिवार्यरुपमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । तोकिएको समयभन्दा ढिलो गरेमा उम्मेदवारले खर्च गर्न पाउने सीमा बराबरसम्मको जरिवाना तिर्नुपर्ने भएकाले जिल्लाका उमेदवार चुनावी नतिजा आएलगत्तै खर्च विवरण बुझाउन हतारिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement