काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै सङ्घीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय तथा प्रविधिमैत्री बनाउने काम भइरहेकाले त्यसका लागि थप सहयोग आवश्यक भएको बताएका छन् ।
आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका संयुक्त राज्य अमेरिकाको कङ्ग्रेसका सदस्यद्वय जर्ज होल्डिग र अमी बेरासँग अर्थमन्त्री डा खतिवडाले सो कुरा बताएका हुन् । भेटका अवसरमा अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्रीलाई नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो राखेका थिए । उनीहरूले नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएकोसमेत उल्लेख गरे ।
उनले एमसिसीअन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्विविधा नभएको उल्लेख गर्दै सो सहायता सम्झौता सङ्घीय संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गरे ।
अर्थमन्त्रीले नेपाल र अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रूपमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । उनले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासबारे जानकारी गराए ।
उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको बताउँदै नेपालमा उत्पादन हुने वस्तुको बजारका लागि समस्या नहुने बताए । मुलुकहरू छिमेकी देश विश्वका धेरै जनसंख्या भएका मुलुकहरू भएकाले विश्व बजारको केन्द्रविन्दुमा नेपाल भएको उनको भनाइ छ । उनले गत वर्ष भएको लगानी सम्मेलनमा अमेरिकी निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा धन्यवादसमेत दिए ।
संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधिमैत्री बनाउन काम भइरहेको बताउँदै उनले अमेरिकाको थप सहयोग आवश्यक रहेको बताए ।




प्रतिक्रिया