काठमाण्डु- खातुनको प्रतिवद्धता पछी दुईसाता अघी कर्मचारीले लगाएको ताला शुक्रवार दुईपक्षीय सहमती हुँदा खुल्ला गरिएको छ।
ईलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाको प्राङ्गणमा शुक्रवार जनप्रतिनिधि र कर्मचारीको संयुक्त बैठकमा कार्यवाहक मेयर अम्बेया खातुनले १५ दिनभित्र सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने प्रतिवद्धता जनाएपछि सहमती भएको थियो।
आजको मितिले १५ दिनभित्र नगरभरिका सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने मेयर खातुनले प्रतिवद्धता जनाए लगत्तै कर्मचारीले नगरपालिकाको साँचो मेयरका श्रीमान महमद सेराजको जिम्मा लगाएका थिए। महमद सेराजले शुक्रवार साँझ कर्मचारी र प्रहरीको रोहवरमा फतुवा विजयपुर नगरपालिकाको ताला खुला गरेको प्रहरीले जनाएको छ।
दुईपक्षीय बैठकमा मेयर अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत वकील पाल, ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर बिजय कार्की, नगर स्वास्थ संयोजक प्रमोद गुप्ता लगायतको सहभागिता रहेको थियो। जनप्रतिनिधि बिच आपसी विवादको कारण यस आर्थिक वर्षको साउन देखि हालसम्म तलब पाउन नसकेका कर्मचारीहरुले दुईसाता अघी फतुवा बिजयपुर नगरपालिकामा तालाबन्दी गरेर साँचो सिडियो हिरालाल रेग्मीको हातमा बुझाएका थिए।
यस अघिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको फतुवा बिजयपुर बाट सरुवा भएसंगै नया अधिकृत पाल र मेयर खातुन चारदिन अघी नगरपालिकाको साँचो सिडियो रेग्मीको हातबाट बुझेका थिए। फतुवा विजयपुरमा जनप्रतिनिधि बिच बजेटको भागबण्डा नमिलेको कारण सम्पूर्ण आर्थिक कारोवार बन्द भएर त्यहाँको शिक्षक कर्मचारी गरी ३५० जनाले साउन देखि हालसम्म तलब पाएका छैनन्।




प्रतिक्रिया