काठमाण्डु- राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले नेकपा एमालेका तेस्रो धारका नेताहरू अब दास बन्नुबाहेक अरु विकल्प नरहेकाे बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत देवकोटाले प्रतिनिधिसभा विघटन जालसाजी र अपराध थियो भन्ने नेताहरु नै अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न पुगेको बताएका हुन् ।
एमालेले प्रतिनिधिसभा पुनःस्थापनालाई दुर्भाग्य भनेर देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको बताउँदै देवकोटाले पछिल्लो समयमा माधव नेपाल समुह छाडेका नेताहरुले त्यसलाई स्वीकार्न पुगेको समेत आरोप लगाए ।
उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भिम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका तेस्रो धारका नेताले प्रतिनिधि सभा पुर्नस्थापनालाई महान र ऐतिहासिक भनेका छन । प्रतिनिधि सभा विघटन जालसाँझ र अपराध थियो भन्ने धारणा समेत उनीहरुको थियो /छ । अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दूर्भाग्य भन्ने र ऐतिहासिक उपलब्धि ठान्नेका बीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ? विपरित धु्रवका यी दुई धार सँगसँगै जानसक्लान ? निश्चित छ । सक्दैनन् । ऐतिहासिक उपलब्धि ठान्नेले ऐतिहासिक भूल भयो भन्नै पर्दछ ।
असहमतिका अरु पनि प्रशस्तै मुद्धाहरु छन । पहिला विचारमा सहमति र एकरुपता नभएसम्म भागबन्डामा रमाउनु/मिलाउनु को कुनै अर्थ छैन ।’
उनले वैचारिक भनिएका नेता घनश्याम भुसालमाथि पनि प्रश्न उठाएका छन्। देवकोटाले अगाडि लेखेका छन्,‘घनश्याम भुसालका विचारका सारका आधारमा नै भन्ने हो भने तेस्रो धारका नेता र कार्यकर्ताहरुलाई अव दास बन्नुको बिकल्प छैन । मैले देख्दिन । सामूहिक नेतृत्व प्रणालीबाट एकल नेतृत्व जस्तो संविधानको भावना विपरीतको निरङ्कुशतातर्फ उन्मुख हुने निर्णयलेनै सन्देश दिइसकेको छ । अब तिमीहरु सबै मेरै वरिपरि घुम्ने हो । पूजापाठ गर्ने हो । राममन्दिर बनाउने हो । ’




प्रतिक्रिया