काठमाण्डु- बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्किएका छन् । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गरेका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आएको छ । नर्थ अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन सम्भावनाको खोजी गर्दै बेरी नेतृत्वको टोलीले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि पदयात्रा गर्दै आधार शिविर पुगेका हुन् ।
समुद्री सतहदेखि चार हजार ३०५ मिटर उचाइमा रहेको नर्थ अन्नपूर्णको मुख्य आधार शिविरसम्म पुगेको सो टोलीले नर्थ अन्नपूर्ण आधार शिविर पदयात्राका लागि सुरक्षित र उत्कृष्ट गन्तव्यका रुपमा रहेको निष्कर्ष निकालेको छ । नारच्याङ हुँदै आधार शिविर पुग्ने पदयात्राको अवधि छोट्टिएको सूचना पाएपछि ७४ वर्षिय बेरी आफ्नो कम्पनीका नेपाल प्रतिनिधिको साथमा आफैँ पदयात्रा गर्दै आधार शिविर पुगेका थिए ।
नेपालका अन्य धेरै हिमाली पर्यटकीय ठाउँहरूमा पुगी सकेका उनले नर्थ अन्नपूर्ण पदयात्रा सबैभन्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिए, ‘हामी यहाँ यदयात्राका लागि पर्यटक पठाउन कति सम्भव छ भनेर खोजी गर्न आएका थियौँ, यति छोटो दूरीको पदयात्रापछि नै हिमालको फेदीमा पुग्न सकिन्छ भनेर सोचेका पनि थिएनौँ, साँच्चीकै हामी अचम्मित भएका छौँ’, बेलायतका पर्यटन व्यवसायी बेरीले भने ।
बेरीको पर्यटन व्यवसायीकै टोलीमा सहभागी माउण्टेन लेजेन्ट प्रालिका प्रतिनिधि शेषकान्त शर्माले हिमालका प्रथम आरोही मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर पदमार्ग तयार भएकाले पनि यो पदमार्गको ऐतिहासिक महत्व खोज्दै विदेशी पर्यटकहरु आउन इच्छुक रहेको बताए ।
‘आधार शिविर पुग्ने पदमार्ग पनि सुरक्षित रहेछ, आधार शिविर पुगेपछि पनि प्रशस्त समथर फाँट भएकाले प्राकृतिक विपत्तीकोसमेत कम जोखिम देखिन्छ, यो ठाउँको मनोरम प्राकृतिक दृश्यको प्रचारप्रसार भयो भने यहाँ पर्यटकको आगमन ह्वात्तै बढ्न सक्छ । सोहीअनुसारका पर्यटन पूर्वाधारको तयारीमा जुट्नुपर्ने देखिन्छ’, शर्माले भने। उनले पदमार्गमा होटल सुविधा विस्तार गर्न आवश्यक रहेको बताए ।
नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ ।
सडक र पदमार्गसँगै पर्यटकका लागि ठाउँ ठाउँमा आश्रयस्थललगायतका पूर्वाधार निर्माण भएपछि म्याग्दीका पर्यटन व्यवसायीसमेत यस क्षेत्रको प्रवर्द्धनमा जुटेका छन् । अन्नपूर्ण प्रवेशद्वारका रुपमा रहेको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीका पर्यटन व्यवसायी अमृतमान शेरचन, राजु हमाललगायतको टोलीलेसमेत स्थलगतरुपमा आधार शिविर क्षेत्रसम्म पुगेर पर्यटन सम्भावनाको खोजी गरेका हुन् ।
तातोपानीमा पर्यटकहरूको लागि होटल सञ्चालन गर्दै आउनुभएका शेरचनले यात्रा अवधि छोटो दूरीमा भएकाले यस क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे ।
सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ सालमा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । पदमार्गलगायतको पूर्वाधारहरूको निर्माण भएपछि गाउँपालिकाले पदमार्ग र आधार शिविरको प्रवर्द्धन अभियान थालेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए। उनले यस क्षेत्रको प्रचारप्रसार तथा थप पर्यटन पूर्वाधार बनाउन पालिकाले आवश्यक पहल थालिसकेको जानकारी दिए ।
नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्न मुस्ताङको टुकुचे हुँदै नारच्याङको भुसकेटमेला निस्कने परम्परागत बाटो जोखिमपूर्ण भएपछि नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको अगुवाइमा २०६८ सालमा स्थानीयकासीको टोलीले चार दिन लगाएर आधार शिविर पुगेपछि अहिलेको पदमार्गको पहिचान भएको थियो । स्थानीय १५ जनाको टोलीले ६२ ठाउँमा अस्थायी साँघु बनाउँदै खोला वारपार गर्दै आधार शिविर पुगेर फर्किएका थिए ।
सन् २००५ मा अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग हेलिकप्टरमार्फत नारच्याङ आएर यो पदमार्गको विकासमा चासो राखेपछि स्थानीयबासीले सक्रियता बढाएका थिए । २०६७ सालमा अन्नपूर्ण आधार शिविरसहित भुरुङतातोपानी र रुप्से झरनालाई प्रचारप्रसारका लागि अन्नपूर्ण तातोपानी रुप्से महोत्सवसमेत आयोजना गरियो । पछि पर्यटन मन्त्रालयमार्फत बजेट विनियोजन हुन थालेपछि नारच्याङ गाउँदेखि छोटेपा हुँदै हुमखोला क्षेत्रमा पैदलमार्ग बनाउन सुरु गरिएको थियो । अहिले जलविद्युत् कम्पनीले यस क्षेत्रमा सडकको पहुँच पुर्याइसकेका छन् ।




प्रतिक्रिया