दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम

दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको खोकनाबासी यतिबेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन् । दशैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ ।

ललितपुर महानगरपालिका–२१ मा पर्ने खोकनामा दशैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि रुद्रायणी स्कूलअघि राँगाको बलि दिएर सुरु भएको हो ।

जात्रामा देवी रुद्रायणीलाई सम्मान र पूजा गर्ने परम्परा छ । विशेषत ५ दिनसम्म मनाइने जात्रामा पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १६ जना र अरू वाद्यबाधकसहित ४६ जना मिलेर खोकना परिक्रमा गर्ने गरिन्छ ।

स्थानीय हिराकाजी महर्जनका अनुसार कुमार केटाहरूले गाउँ परिक्रमा गरी संकलन गरेका पूजा सामग्रीले तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने प्रचलन छ ।

‘सिकाली हिँड्ने ११ गते पञ्चमीबाट हो । १२ गते षष्ठीका दिन लाछी टोलमा पुगिन्छ । त्यसको पछि रुद्रायणी देवतालाई खटमा राखी सबै जनाले पूजा गर्छन् र बेलुका जात्रा निकालिन्छ,’ उनले भने, ‘हामी माथि बसेर भोज खान्छौं र नाइकेले सुकुन्डा झ्यालबाट नदेखाइ खट उचाल्न मिल्दैन ।’

सिकाली जात्राका बेला देखाइने नाच, तान्त्रिक विधिबाट गरिने पूजा तथा अन्य कामहरूलाई विभिन्न गुठीमा कार्यविभाजन गरिने पनि महर्जनले बताए ।

सिकाली जात्रामा रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, वाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमारको नाच देखाइन्छ ।

सबै देवगणलाई मन्दिरभित्र लगेर वीरभद्र, महाकालीका रूपमा तान्त्रिक विधिबाट पुजा गरि मन्दिरबाहिर निकालेपछि सिकाली परिसरमा नचाइने र यो नाच नै  जात्राको मुख्य आकर्षण रहेको महर्जनले बताए ।